काठमाडौं, २६ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकीकरण गरेर यो मुलुकलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन पृथ्बीनारायण शाहले महत्वपूर्ण उपायहरु सुझाएको बताउनु भएको छ । उहाँले पृथ्बी नारायण शाहलाई जनचाहना बुझ्न सिपालु र जनइच्छालाई सर्वोपरी ठान्ने व्यक्ति पनि भएको उल्लेख गर्नु भएको छ ।
पृथ्बी नारायण शाहको २९७ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले अगाडि भन्नु भएको छ ‘ यो देश एकीकरण हुनुपूर्व स–साना टुक्रामा विभक्त थियो, एकीकृत नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन, स्वतन्त्र राष्ट्रको रुपमा उठन र स्वतन्त्र राष्ट्रकै रुपमा रहन पनि सम्भव थिएन, त्यसबेला छरिएर रहेका राज्यहरुलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्बीनारायण शाहको नेतृत्वमा संगठितरुपमै एकीकरण अभियान सुरु भयो र अथक प्रयासपछि त्यो महाअभियानका रुपमा सफल भयो ।
शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सन्देशमा भन्नु भएको छ ‘यो मुलुक सबै जातको फूलबारीकोरुपमा रहेको आत्मसात गर्दै हाम्रो समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो शुत्रमा एकताबद्ध भएको कुरा उहाँबाट उसैबेला व्यक्त भएको थियो ।’
अर्थतन्त्र सुदृढीकरणका लागि सुशासन अपरिहार्य रहेको मनन् गर्दै घुस दिने र लिने दुबै देशका शत्रु हुन भन्ने धारणा राख्नु र देशको भूराजनीतिक अवस्थालाई प्रतिबिम्बित गर्दै यो राज्य दुई ढुंगाबीचको तरुल हो भनेर औल्याउनु पनि पृथ्बीनारायण शाहको जीवन्त दृष्टिकोण भएको उल्लेख गर्नुभएको छ ।