काठमाडौं : गृह मन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो। यो सन २०१८ को तथ्यांक हो।
उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्। गृह मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ। उनीहरू धर्म परिवर्तनमा भने संलग्न छैनन्।
एक वर्षको अवधिमा अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ, जसमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती थिए। पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले उनीहरूलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको थियो। अन्य निस्कासित हुनेहरूमा अधिकांश विदेशी भिसाबिना बसेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र कैद भुक्तान गरेका छन्। सरकारले विदेशीहरूको उपस्थितिलाई निगरानी नगर्दा अवैध रूपमा नेपाल बस्ने विदेशीको संख्या बढ्दै गएको छ।
कुनै पनि विदेशी नेपाल प्रवेश गरेदेखि नफर्किएसम्म उनीहरूका गतिविधि निगरानी गरिनुपर्ने पूर्वगृहसचिव गोविन्द कुसुमले बताए। ‘कुन प्रयोजनका लागि विदेशी नेपाल आएका हुन्, त्यसको स्पष्ट जानकारी सरकारले लिनुपर्छ’, उनले भने, ‘नेपाल बसाइमा कुनकुन स्थानमा जान्छन्, त्यहाँ उनीहरूको अभिलेख राख्नुपर्छ।’
अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ।
विदेशी नागरिक अनुगमन निर्देशिका भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालमा अवैध ढंगले बस्ने विदेशीको संख्या बढेको हो। अवैध रूपमा नेपाल बस्न खोज्ने विदेशीलाई निरुत्साही गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘अध्यागमन ऐन संशोधन हुँदा ओभर स्टे भएकाहरूलाई कस्तो कारबाही गर्ने भन्नेसमेत स्पष्ट व्यवस्था गरिनुपर्छ।’
गृहले ४४ अमेरिकी, २१ बंगलादेशी, २७ पाकिस्तानी, १६ इरानी,१५ दक्षिण कोरियाली र १४ जना उज्वेकिस्तानीलाई गत वर्ष निकालेको छ। गृहले भारत, टर्की, श्रीलंका, युक्रेन, लेबनान, स्पेन, यमन, युक्रेनलगायत ६२ मुलुकका विदेशीलाई निष्कासन गरेको हो। उज्वेकिस्तानका युवतीको नेपाल बसाइ भने रहस्यमय बनेको छ। केही समयअघि भिसाको म्याद गुजारिसकेका २४ भन्दा बढी उज्वेकिस्तानका युवती त्रिवि अध्यागमनमा सेटिङ मिलाई भिसा नियमित नगरी उडेका थिए। गृह मन्त्रालयले सन् २०१३ मा २ सय २०, २०१४ मा १ सय ९१, २०१५ मा २ सय ८१, २०१६ मा २ सय ९७ र २०१७ मा ४ सय ३५ जना ओभर स्टे भएका विदेशीलाई निकालेको थियो। सन् २०१४ मा ओभर स्टे भएका विदेशीको संख्या केही कम देखिए पनि त्यसपछि बढदो छ।
चिनियाँहरू पर्यटक भिसामा आएर उनीहरूकै परियोजनामा संलग्न हुने गरेका छन्। पछिल्लो पटक गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो। उनीहरू सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी हुन्।
काम गर्नुपरे जुनसुकै विदेशीले पनि श्रम स्वीकृति लिनुपर्छ। जुन उद्देश्यका निम्ति भिसा लिएको हो, त्यसबाहेक काम गर्न पाइँदैन। विदेशी नागरिक पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्। सन २०१८ देखि भने पर्यटक भिसामा अमेरिकी नागरिक १ सय ८० दिन बस्न पाउने भएका छन्।