जब सिंहदरबारमा मोहनसिंका आँसु तपतप खसे ……

– विश्वास खड्काथोकी

काठमाडौं । मोहनसिं भुल आइतबार नेपाल राज्यको शक्ति केन्द्र सिंहदरबार पसे । ८१० रोपनीको कम्पाउण्डभित्र बल्लतल्ल भूमि सुधार मन्त्रालय पहिलाएर मन्त्री पद्मा अर्यालको निजी सचिवालयमा छिरे ।

भूलको हातमा एउटा फाइल थियो । देख्नेहरुका लागि त्यो सामान्य रेकर्ड फाइल हो तर, उनका लागि ५० वर्षदेखिको बेदनाको पोको हो, त्रासको भारी, अभावको भाडो र अपमानको प्रमाणपत्र हो । यसलाई च्यातचुत पारेर मुक्तिको सास फेर्ने वर्षौदेखिको चाहना पुरा गर्न उनी सिंहदरबारसम्म आइपुगेका हुन् ।

फाइलको कभरमा लेखिएको छ-

नाम: मोहन सिं भुल
ठेगाना: केआइसिंह गाउँपालिका वडा नं. ५ जमरकटिया, डोटी ।

फाइलभित्रको निवेदनमा मन्त्रीलाई सम्बोधन पछि लेखिएको छ-

विषय: जोखिममा रहेको दलित वस्तीलाई व्यवस्थापन गरिपाऊँ

भुलले निवेदनमा दुईवटा फोटा पनि संलग्न गरेका छन्, जसमा खर र ढुंगाका छाना भएको वस्तीमाथि विकराल भीर देखिन्छ । लाग्छ, त्यो वस्ती नभएर भीरबाट खस्न लागेको सुख्खा पहिरो थाम्न बनाइएका दयनीय मानव संरचना हो ।

भुल वस्तीको कथा

५० वर्ष पहिलेको कुरा हो, उनीहरुको बसोबास वस्तीवडार गड्डोमा थियो । त्यहाँ बाढी-पहिरो जस्ता प्राकृतिक विपत्तिको कुनै खतरा थिएन, पाखो बाली लगाउन मिल्ने केहि बारी पनि थियो । वस्तीवडार गड्डोभन्दा केही तल ब्राम्हाण र ठकुरीहरुको वस्ती थियो । त्यो बाहुन गाउँभन्दा माथि हुनु नै दलितहरुका लागि ‘अभिसाप’ बन्यो ।

त्यसबेलाका कथित ठुला जातका अगुवाहरुलाई सानो जात बसेको ठाउँ भन्दा तल रहनु हुन्न भन्ने लाग्यो । ‘डुमहरु हाम्रो शीरमा होइन, पाउमा बस्ने हो’, उनीहरु कराउन थाले, ‘कता सर्छौ, सरी हालेस् । तर हाम्रो भन्दा तल सरेस् ।’

वस्तीवडार गड्डोका दलितहरुसंग यसको जवाफ थिएन । थियो त केवल बाहुन र ठकुरीहरुको हलिया हुनुपर्ने बाध्यता । बिहेमा डोली बोकिदिनुपर्ने, चाडबाडमा दाउरा-घाँस काटिदिनुपर्ने र उनीहरुले दिएको केही अन्नले छाक टार्नुपर्ने वाध्यता । परिणाम्, २० घरपरिवार दलित पुर्ख्यौली थातथलो छाडेर लुरुलुरु बगरजस्तो नयाँ ठाउँमा सरे, जहाँ अहिले ३५ परिवार छन् ।

भन्नुको नयाँ ठाउँमा सरेपनि पहिलादेखि अन्याय र वाध्यता जारी रहृयो । उनीहरुले बेलाबेला आफ्ना चेलीबेटीको इज्यत लिलामीमा चढाइरहनु पर्‍यो । चाड पर्वमा छोरी-बुहारीलाई देउडा खेल्न पठाउनुपथ्र्यो । छोरी-बुहारी बलात्कारमा पर्थे, पेट बोके पनि त्यसलाई गुपचुप पार्नुपर्थ्यो ।

५१ वर्षीय मोहनसिंको अनुभवमा अहिले त्यस्तो अत्याचार कम भएको छ तर, पुरै रोकिएको छैन । ‘केही वर्षअघि एक जनाले हाम्रो चेलीलाई भारत लगेर राख्यो’, उनले भने, ‘एक वर्षमा फर्काएर कि आफ्नो चेली स्याहार कि गाउँबाट निस्केर जा भन्दै धम्की दियो, यस्तो छ पीडा ।’

उनका अनुसार, बाआमाले छोरी फिर्ता लिएर अर्कै गाउँका आफन्त कहाँ पठाए । हाडनाता करणीबाट गर्भवती भएकी एक व्राम्हण युवतीलाई भुल युवकसँग डाँडा कटाएको उदाहरण पनि छ । ‘यस्ता अन्यायविरुद्ध लड्ने शक्ति अहिलेलाई भुलवस्तीसँग छैन’, मोहनसिं भन्छन्, ‘गाउँलेहरुको जीवन साँझ-विहानको चारो जुटाउने चिन्तामै सकिरहेको छ ।’

भुल वस्तीमा खेतीयोग्य जमिन छैन । जीवन निर्वाहका निम्ति अहिले पनि हलिया बस्न बाध्य छन् । केहिले अधियाँमा खेती गर्छन् तर, आधा उब्जनीले वर्ष दिन खान पुग्ने कुरै भएन । सबैको निर्वाह मुख्यतः भारतको मजदुरीबाट धानिएको छ ।

छोरा ८/१० वर्षको भएपछि स्कुल होइन, भाँडा माझ्ना भारत पठाइन्छ । उनीहरुले हात कुहाएर महिनामा ३ हजारदेखि ७ हजारसम्म कमाउँछन् । उनीहरुले पठाएको रकमले परिवारको गर्जो टर्छ । यस्तो बाध्यताकाबीच भुल वस्तीका जम्मा तीन जनाले एसएलसी पास गरेका छन् । फायल बोकेर सिंहदरबार पसेका मोहनसिंह २०४१ सालका टेस्ट पास हुन् । त्यही योग्यताबाट उनले यो आँट र हैसियत बनाएका हुन् ।

मोहनसिंको जीवन संघर्ष

मेघराज जोशीको बुवाको आँखा फुटेर उपचारका लागि भारत लैजानुपर्ने भएपछि मोहनसिंका बुवाले बोकेर विभिन्न ठाउँ पुर्‍याए । त्यसबाट खुशी भएका जोशीले केही जग्गा ‘घरसारी राजीनामा’ गरिदिएका थिए ।

त्यो ‘राजीनामा’को पुच्छरमा लेखिएछ- ‘हलो बाई त खलो खाई’ (बाली लगाइन्जेल खाने अनि जाने) । जे लेखिए पनि भुलहरुका लागि ‘काला अक्षर भैसी बराबर’ थियो । केहि वर्षमा त्यो जग्गा खोसियो । ‘त्यो बेला मेरा सोझा बुवाले मलाई जसरी पनि पढाउने संकल्प लिनुभएको थियो’, मोहनसिं सम्झन्छन्, ‘उहाँले अन्तिम कोशिस पनि गर्नुभयो ।’

गाउँको एकमात्र स्कुल भुवनेश्वरी प्रावि जान थालेका उनी विस्टलाई छोइएला भन्ने डरले तीन मिटर पर ढोका छेउमा बस्थे । तर, त्यो पनि सैहृय भएनन । एक दिन केहि व्राम्हणहरु आएर शिक्षकलाई थर्काए, ‘डुमहरु पढ्न थालेपछि हाम्रा छोराहरुले के गर्ने, कता जाने ?’

उनीहरु त्यतीमै रोकिएनन्, मोहनसिंलाई पिटपाट पारे । उनी रुँदै खरको झुप्रोमा फर्किए । जसरी पनि पढाउने अठोट लिएका बाले छिमेकी गाउँको छत्रेश्वरी प्रावी पठाउन थाले । ‘दलितलाई पढाउनु हुँदैन भन्ने मानसिकताका कारण त्यहाँ पनि असहज भएपछि दिपायलको दिल्लेश्वरी मावि पुग्नुपर्‍यो’, मोहनसिं भन्छन्, ‘त्यहाँ आठ पास गरेर झालेमालिका माविबाट टेस्ट उतीर्ण गरेँ ।’ त्यसपछि भने बुवाको केहि लागेन, जेठो छोरालाई बजारमा राखेर एसएलसी परिक्षाको तयारी गराउन सकेनन् ।

अनि मोहनसिं काम गर्न भारततिर लागे । केहि रकम कमाएर फर्किएको बेला क्षत्रीय खानेपानी कार्यालय दिपायलमा कार्यालय सहायकको जागिर खुलेको रहेछ । त्यसमा नाम निकालेर उनी २०५५ सालमा बझाङ गए ।

अर्को वर्ष खानेपानी संस्थानको प्राविधिक तेस्रा तह -अस्थायी) मा नाम निकाले । जागिरमा लगन देखाए, कमाई बचत गरे । त्यसबाट उनको अवस्था उक्स्यो । आफूले पढ्न नपाएको गाउँको स्कुलमा उनले निजी लगानीमा एउटा कोठा बनाइदिए । ‘दुःखको कुरा स्नातक गरेकी मेरी भाइबुहारीलाई त्यही स्कुलको शिक्षिकाबाट निकालियो’, गत असोजमा जागिरबाट अवकास पाएका उनले भने ‘अरु दुई जना दलित पनि निकालिए ।’

अर्थात्, उनको गाउँ जस्ताको तस्तै । बाहुन र ठकुरीहरु दलितसँग छोइएमा अहिले पनि सुनपानी छर्किएर मात्र घरभित्र पस्छन् । तर, त्यसमा उती मतलव राख्दैनन्, मोहनसिं । उनको ठूलो चासो र चिन्ता कुन दिन या रात सुख्खा पहिरोले भुल गाउँलाई सखाप पार्छ भन्नेमा छ ।

यो वस्ती सार्न कहाँ मात्र धाएनन् मोहनसिंह- वडा कार्यालय, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय… । आफ्नो क्षेत्रका सांसद प्रेमबहादुर आलेलाई अनेक पटक भने । डेढ दशकमा गुहार माग्दै दौडिँदा उनका दर्जनौं जोर जुत्ता फाटे तर, वस्तीको दुःख बीसको उन्नाइस् भएन ।

अन्ततः अन्तिम विकल्पका रुपमा सिंहदरबार आइपुगेका मोहनसिंहको माग सरल छ । हात जोड्दै उनी भन्छन्, ‘हजुर, हामीलाई सामूहिक चिहानमा पुरिनबाट जोगाइयोस्, बाहुनहरुको अन्यायबाट बाहिर निकालियोस्, पुरानो गल्ती सच्याएर न्याय गरियोस् ।’

कम्युनिस्ट नेतृ पद्मा अर्यालले हाकिरहेको भूमि सुधार मन्त्रालयले वस्ती सारिदिन्छ भन्ने विश्वास छ त ? सचिवालयमा कर्मचारीका अगाडी मोहनसिंको अनुहार विगि्रयो, बोलि फेरियो, आँखा रसाए । उनले हात जोड्दै भने, ‘सबै हजुरहरुको हातमा छ । आज यहाँ मलाई फेरि आफ्ना बालाई भेटेजस्तो भएको छ । ठूलो आस गरेको छु ।’

उनले बिस्तारै फायल मिलाए ।

केआइसिंह गाउँपालिका-५ जमरकटियामा ४०० जति दलित घरपरिवार छन् । उनीहरुको आर्थिक-सामाजिक अवस्था दयनीय छ । त्यसमा पनि भुल टोल त पहिरोको पनि धरापमा छ । भूमि सुधार मन्त्री अर्याललाई सोमबार निवेदन बुझाएर त्यही धरापतिर लागे, मोहनसिं भुल ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार