– अम्बिका कार्की “अमु”
बोकेर सपनाहरूको थुन्से
टेकेर आवस्यकताको लठ्ठी
गन्तब्यको उकालो
चढ्न लागेको पनि बर्षौं भयो ,
पटुकी बाँधेर
भोक सँगको लडाई
मेरो स्वार्थ मात्र होइन छोरी!
जुका जस्तै टाँसिएको
उनको यादमा
नुन चुक मोलेर जिब्रो पड्काउँदै
बिग्रेको थुतुनोलाई
शत्रुको नजरमा पर्न नदिइ
म तिम्रो पाइला तन्काउनमा तल्लिन भएँ
हो त्यो बेला
पल्लाघरे माइली आमा पनि
माइला बालाई
यमराजले माया गरेको निहुँमा
सिंगरी खेल्दै धर्ती सँग
शिर बजारेकी थिइन्
त्यति बेला अमिलो भएको मेरो मुटु
कापिरहेको थियो तर
त्यहाँ उनको चिच्याहटमा
तमासा बनाइरहेका तामासेहरूले
त्यसै दिन
उनको जिब्रोको रंग नियालेर
कालो छ भनेर कानेखुसी गर्दै थिए
पखेटा काटिएको
चरी जस्तै भुर्र भुर्र भएको
मेरो बदनलाई
घेरा हाल्दै पिजडामा राख्ने
जमर्को त्यसै बेला गर्दै थिए ब्याधाहरूले
धोद्रो पसेको काठ जस्तो
जिन्दगी बोकेर हिड्दा हिड्दै
थकित मन बिसाउने
चौतारी नै भत्किएपछि
त्यही चौतारी
चिन्ने ढुंगा बटुल्दैमा
मेरा बसन्तले मलाई
चेप्न थालेका हुन् छोरी !
मेरा कदममा
म तिर तेर्सिएका औलाहरूले
गाडीको ब्रेक लागे जस्तै
पाइला रोकिदिन्थे तरपनि
तिमीलाई क ख राको लत बसाल्न
घोक्रो सुक्ने गरी चिच्याएको त्यो दिन
अनुकरण गर्यौ भने
तिम्रो भविष्यमा पक्का जुनकीरी बल्नेछ,
हो त्यो दिन
मेरो प्यास मेटाउन
बुढी गंगा मेरै समीप आउने छिन्
मेरो सपनाको महलले
आफ्नै कौसी बाट
यो संसार नियाल्नेछ
आफैलाई भुलेर
कुहिनाबाट पसिनाको नहर बगाउँदै
युद्धको सिपाही जस्तो निरन्तर लडेर
जिम्मेवारी बहनको बाहनामा
अब अन्तिम इच्छा कुरिरहेकी हुनेछु ,
हो छोरी !
तिमी मेरो गर्भाशयको
तलाउबाट
यो धर्तीमा कलिला पैतालाहरुले कुल्चिएर
जसरी मेरो संसार फुलायौ,
त्यसरी नै आफ्नो संसार सिगार्न
हरियाली रुखमा बसाइ सारिरहदा
चराहरुले जसरी उभिन्छ
पात झरेको त्यो बूढो रुख,
हो त्यसरी नि बर्षौसम्म
हेरिरहन पाउँ ठिङग उभिएर तिम्रो बस्तितिर…
– अम्बिका कार्की “अमु”
सर्लाही, हाल चितवन