बेलायतका यी नेपालीले जस्ले चढ्छन् १ लाख ३० हजार पाउन्डको १६ सय सीसीको विश्वकै सबैभन्दा ठूला बाइक

पाखुरामा हार्ले डेभिडसनको टाटु । हार्ले डेभिडसन बाइकको चित्रका साथ अक्षरमा नाम समेत लेखिएको छ । घडी र सिक्रीमा समेत हार्लेकै चित्र । यो हो अन्दिप आचार्यको पहिचान । लाग्छ उनको शरीर र रगतमै हार्ले छ ।करिब २३ बर्ष पहिले ६ महिनाको टुरिष्ट भिसाका लागि बेलायत पुगेका थिए अन्दिप आचार्य । समय व्यतित गर्नकै लागि इन्डियन रेष्टुराँमा काम सिक्न थालेका अन्दिपलाई ३ महिनामा त्यतिबेला ५० हजार रुपैयाँ कमाउन सकिने थाहा भयो । ५० हजार कमाएर नेपाल फर्किने उनको इच्छा थियो । तर त्यसको पछि लागेको १२ बर्ष भएछ । किनकी उनी १२ बर्ष पश्चात मात्र नेपाल फर्किए । तर उनको साथमा ५० हजार मात्र होइन, धेरै थियो ।नेपाल फर्किने समयमा अन्दिप पहिले जस्तै अपरिपक्व थिएनन् । उनी एक प्रतिष्ठित ‘सेफ’ बनिसकेका थिए । उनी विशेष गरी इन्डियन खानाका विभिन्न परिकार बनाउन सिपालु थिए । यो वाहेक उनको अर्को पहिचान पनि बनेको थियो । उनी विश्वमै प्रतिष्ठित मानिएको हार्ले डेभिडसन बाइकका शौखिन मात्र थिएनन्, त्यसको गतिलो राइडर बनिसकेका थिए ।
बेलायतको सेटल्यान्ड नामक सानो टापुमा उनको संघर्ष यात्रा प्रारम्भ भएको थियो ।

संघर्षकै क्रममा उनले एक वर्षको अवधिमा १८ रेष्टुराँमा काम गरे । पछि उनले त्यही सानो स्थानमा ‘गोर्खा किचेन’ नामक रेष्टुराँ सञ्चालन गरे । त्यही रेष्टुराँको विकसित रुप नै अहिले नटिंघमको ‘गोर्खा किचेन’ हो, जहाँ बेलायतका विभिन्न स्थानका हार्ले राइडरहरु समेत भेला भएर विभिन्न परिकारका साथ रमाउछन् । सन् २०१० मा उनले नटिंघममा गोर्खा किचेन प्रारम्भ गरेका थिए ।

हाल अन्दिपसँग भी८ स्पोर्टस्टर बाइक छ । पुरै बेलायत भरी ६ वटा मात्र यस्ता बाइक छन् । विश्वमै सबैभन्दा ठूला बाइक मध्ये यो बाइक पनि पर्छ । १६ सय सीसीको सो बाइकको मूल्य नै करिब १ लाख ३० हजार पाउन्ड पर्छ ।

यद्यपि उनले आफ्नो नजिकको साथीमार्फत सो बाइक ९० हजार पाउन्डमा किनेका थिए । नेपाली बजारका आधारमा हेर्दा सो बाइकको मूल्य ३ करोड रुपैयाँ भन्दा बढी नै पर्छ ।शुरुमा उनले १६ सय सीसीको फ्याटब्वाई नामक हार्ले बाइक किनेका थिए । त्यतिबेला यसको मूल्य १३ हजार ५ सय पाउन्ड पथ्र्यो । अहिले यसको मूल्य करिब १९ हजार पाउन्ड छ । त्यही बाइकमै चढेर उनले बेलायतको ड्राइभिङ लाइसेन्स लिएका थिए रे । त्यसपछि उनले हाल सम्म १५ भन्दा बढी बाइक किन्दै र बेच्दै गरे । तर पनि उनको साथमा सो फ्याटब्वाई अझै पनि छ । भन्छन्, ‘जिन्दगीको पहिलो हार्ले बाइक म कहिल्यै पनि बेच्ने छैन । यही नै मेरो सुरुवातको बाइक हो ।’

हार्ले बाइकप्रति अन्दिपको कति माया छ भने उनी यही बाइक चढ्नकै लागि बेलायत छोड्न नसकेको समेत बताउछन् । बीचमा एक पटक उनी नेपालमै बस्ने भनेर आएका थिए रे । उनले आफूसँग भएको हार्ले डेभिडसनको बाइक नेपालमा ल्याउने विचार गरे । तर नेपालमा १३ सय सीसी भन्दा बढीको बाइक चलाउन नपाइने । नेपालमा हार्ले बाइकको डिलर त झन् त्यो जमानामा हुने कुरै भएन । भर्खरै यो वर्ष मात्र यसको आधिकारिक वितरकको रुपमा आईएमई अटोमोटिभ्सले काम गर्न थालेको छ । बेलायतबाट नेपालमा सो बाइक ल्याउन नै त्यो जमानामा करिब ७ लाख रुपैयाँ लाग्दो रहेछ । त्यसैले उनी फेरि बेलायत नै फर्किने निर्णय गरे । फर्के ।

हाल अन्दिप त्यहाँको हार्ले ओनर्स ग्रुप (एचओजी) का सक्रिय सदस्य छन् । यही ग्रुपमार्फत विभिन्न राइड कार्यक्रममा सहभागी भई विभिन्न देश पुग्छन् । त्यहाँको एचओजी नामक हार्ले म्यागेजिनमा उनी र गोर्खा किचेनको तस्बिर प्रायः प्रकाशित भइरहेको हुन्छ । युरोपका लगभग सबै देश उनी पुगिसकेका छन् ।

अब अमेरिकाको ‘रुट ६६’ मा पुग्ने उनको चाहना छ । हार्ले राइडरहरुका लागि रुट ६६ ‘मदर रोड’ हो । करिब ३ सातामा पार गर्न सकिने सो रोडमा माइनस देखि ६५ डिग्री सम्मको तापक्रम हुन्छ ।जतिसुकै व्यस्त भए पनि अन्दिप दसैं तिहारको छेको पारेर वर्षमा एक पटक नेपाल आउछन् । नेपाल आएको समयमा पनि उनी नेपालका राइडरहरुसँग रमाउछन् । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुन्छन् । यो वर्ष उनी रोयल इन्फिल्ड अर्थात बुलेट राइडरहरुसँग सहभागी भई सिक्किम पुगे ।

सिक्किममा सम्पन्न एनआरएम अर्थात नर्थ राइडर्स मिटमा उनी सहभागी भए । कुकुर तिहारको दिन बुलेट राइड कार्यक्रमको आयोजना गरी कुकुर संरक्षणका लागि ३ लाख रुपैयाँ प्रदान गरे । आश्रित बालबालिकाहरुसँग रमाउदै उनीहरुका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरे । बाइकमा बालबालिकालाई घुमाए ।बाइकका शौखिन ब्यक्तिहरु चारपांग्रे गाडीमा खासै रमाउदैनन् । यो तथ्य अन्दिपमा पनि लागू हुन्छ । उनलाई गाडीप्रति भने धेरै क्रेज छैन । यद्यपि कामको सिलसिलामा गाडी पनि आवश्यक पर्ने भएकाले उनले गाडी किनेका छन् । तर पनि उनीसँग महंगा गाडी छन् । प्रारम्भमा सन् २०१२ मा उनले पोस्र्चेको भी८ टर्बो किनेका थिए । यसको मूल्य ८४ हजार पाउन्ड पथ्र्यो । पछि उनले प्युजो र फोर्डका गाडी पनि किने । हाल उनीसँग फोर्ड फिएस्टा र ट्रान्जिट भ्यान छ । ट्रान्जिट भ्यान उनको रेष्टुराँका लागि प्रयोग हुन्छ । सो भ्यानमा पनि उनले हार्ले बाइक र गोर्खा किचेन झल्काउने विभिन्न तस्बिर राखेका छन् । यसबाट एक प्रकारले उनको रेष्टुराँको समेत प्रचारप्रसार भइरहेको हुन्छ ।

प्रस्तुति : एकराज सुवेदी नेपाल अटो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार