शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा देउवाले वर्तमान सरकार फ्लप (असफल) भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । सभापति देउवाले पोस्टर टाँगेर अब देश नचल्ने भन्दै व्यंग्य गरे ।
अहिले प्रतिपक्ष किन कुहिरोको काग भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले भने ‘तपाईहरु छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।’
वाइडबडी विमान खरिद छानबिन प्रकरणमा उनले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको भन्दै त्यस विषयमा जानकारी नभएको बताए ।
निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको उनले जिकिर गरे । यो घटना सानो नभएको भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय नछाड्ने दावी गरे ।
सरकारले समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने भनिरहेका बेला देउवाले भने कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने धारणा राखे । देउवाले कर्मचारीलाई आतंकित बनाउनु भन्दा पनि उनीहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने बताए ।