काठमाडौं । आगामी वर्षका लागि १५ ओटा विभिन्न विदा थप्न सरकारले प्रस्ताव गरेको छ । विभिन्न जातीय तथा सांस्कृतिक पर्वहरुलाई मान्यता दिँदै सार्वजनिक विदाको व्यवस्था मिलाउन सरकारले प्रस्ताव गरेको हो ।
विदा पुनरावलोकन समितिले वि. सं. २०७६ का लागि विदा थप गर्न प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सम्मिलत समितिले विभिन्न ८ पर्वहरुमा ११ दिन विदा दिनका लागि प्रस्ताव गरेको छ ।
समितिले हाल रहेका सबै विदालाई यथावत् राख्दै विदा थप्न प्रस्ताव गरेको हो ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन लगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल पित्र, बकर ईद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।
त्यस्तै क्रिश्चिनय महासंघको माग तथा विदा पुनरावलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ ।
उभौलि र उधौली, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार, छठ पर्व र माघी, ऋषि पञ्चमीमा महिलाहरुलाई मात्र, जनैपूर्णिमालगायतका पर्वहरुमा विदा दिन प्रस्ताव गरिएको छ । यो प्रस्ताव मन्त्रिपरिषदमा पेस भइसकेको स्रोतले जनाएको छ ।