वीर अस्पताल र ट्रमा सेन्टरलाई ‘मर्ज’ गर्ने तयारी, एक जना मात्र निर्देशक राख्ने प्रस्ताव, ट्रमाका डाक्टर विरोधमा उत्रने

-कल्पना पौडेल
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र ट्रमा सेन्टरलाई एकै ठाँउमा मर्ज गर्ने तयारी गरेको छ। मन्त्रालयले ट्रमालाई वीर अस्पतालको एउटा विशेष विभागका रुपमा राख्ने प्रस्ताव गरेको छ।

ट्रमालाई वीर अस्पतालको विशेष विभाग बनाएसँगै ट्रमामा हाल छुट्टै निर्देशक रहने व्यवस्था पनि खारेज हुने छ। दुवै अस्पताललाई मर्ज गरेर एउटा बनाउने र निर्देशक पनि एक जना मात्र राख्ने प्रस्तावको फाइल मन्त्रीपरिषदमा लैजाने तयारी भएको हो।

अहिले दुवै अस्पताल निर्देशक विहिन छन्।

मन्त्रालयले बिरामीका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउन भन्दै यस्तो प्रस्ताव तयार गरेको बताइएको छ। न्याम्स अन्तर्गत रहेका दुवै अस्पताल छुट्टाछट्टै निर्देशक हुँदा काममा समस्या भएको मन्त्रालयको भनाई छ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका प्रमुख स्वकीय सहसचिव अमरेन्द्र यादवले एक जना निर्देशक बनाई ट्रमालाई स्पेशल विभागको रुपमा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले भने, ‘दुवै अस्पताल एउटै प्रतिष्ठानबाट सञ्चालित भएका हुन्, बिरामीलाई अझ सहज सेवा उपलब्ध गराउन यसो गर्न लागिएको हो।’

ट्रमामा आउने बिरामीका लागि अन्य समस्या देखाउनु परेमा वीरका चिकित्सक जान नमान्ने, वीरमा आवश्यक भएमा ट्रमाका चिकित्सक आउन नमान्ने समस्याका कारण दुवैमा एक मात्र निर्देशक राख्ने निष्र्कषमा मन्त्रालय पुगेको बताइएको छ ।

मन्त्रालयको यो प्रस्तावमा भने ट्रमा सेन्टरका चिकित्सक असन्तुष्ट भएका छन्। ट्रमा सेन्टरलाई राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्दै लैजानु पर्नेमा सरकारले झन् यसको सेवा खुम्च्याउँदै जानु गलत भएको उनीहरुको भनाई छ।

‘दुवै अस्पताललाई मर्ज गर्नु भनेको ट्रमाको सेवालाई झन् कमजोर बनाउनु हो,’ ट्रमा सेन्टरमा कार्यरत डा रुद्र मरासिनीले भने, ‘सरकारले त यो सेन्टरलाई थप विस्तार गरेर केन्द्रिय स्तरको तालिम केन्द्र बनाउने र यसको सेवालाई प्रदेश ट्रमा सेन्टर बनाएर विस्तार गर्नुपर्छ।’

उनले दुवै अस्पतालमा अधिकारसहितको बलियो निर्देशक बनाउँदै व्यवस्थापन चुस्त बनाउनु पर्नेमा जोड दिए। ‘यो सेन्टरलाई ट्रमाको अतिविशिष्टकृत सेवा केन्द्रका रुपमा विस्तार गर्दै जानुपर्छ,’ उनले भने, ‘गंगालाल अस्पताल झैँ यसलाई स्वायत्त र थप शक्तिशाली बनाउने हो भने सेवाको गुणस्तर राम्रो हुनेछ।’

ट्रमा सेन्टरलाई सुरुमा वीर अस्पताल अन्तर्गत नै राख्ने विवाद हुँदा ट्रमाको भवन बनेर पनि लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन। वीर अस्पतालको एउटा विभाग बनाउने कुरामा त्यतिबेला लामो समय विवाद भएको थियो। त्यसपछि ट्रमालाई न्याम्स अन्तर्गतकै छुट्टै अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार