५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

– नवराज मैनाली
५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरूलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरू कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू गत साता न्यूनतम धरौटीमा छुटेका हुन् ।

घर्तीविरुद्ध ५७ करोड ४४ लाख आठ हजार चार सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा छुटेका छन् । १६ करोड ७४ लाख २० हजार बिगो दाबीसहित मुद्दा दायर गरिएका ऋणी पोखरेल ५ लाख धरौटी राखेर छुटेका छन् । यस्तै, १६ करोड ८२ लाख ६५ हजार बिगो दाबी गरी मुद्दा दायर गरिएका ऋणीहरू प्रमोदकुमार पाँच लाख र अजयकुमार तीन लाख धरौटीमा छुटेका छन् ।

किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमलप्र्रसाद ज्ञवालीको नेतृत्वमा बैंकमा अनियमितता भएको थियो । ज्ञवाली दुई महिनाअघि पक्राउ परेपछि सिआइबीले पुरानो घटनाको अनुसन्धान गरी २६ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये पक्राउ गरी ५७ करोड जरिवाना र १० वर्षसम्म कैद सजायको माग दाबी गरिएको मुद्दाका आरोपीहरू न्यूनतम धरौटीमा छुटेका हुन् ।

फिल्म निर्मातासहित २० जना फरार
सो अनियमिततामा प्रहरीले २६ जनालाई प्रतिवादी बनाएकोमा २० जना अझै फरार छन् । मुद्दा दायर हुनेमा बैंकका कर्मचारी, ऋणी, जमानीकर्ता र धितो मूल्यांकनकर्ता छन् । तत्कालीन सिइओ कमल ज्ञवाली जेलमै छन् । बैंकका तत्कालीन कम्पनीसचिव बालकुमार पाण्डे तथा कर्मचारीहरू विमल सापकोटा, सुनयन श्रेष्ठविरुद्ध मुद्दा लागेको छ । गलत मूल्यांकन गर्ने रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक कोमानन्द अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । यसअघिका किस्ट बैंकका कर्जा अनियमिततासम्बन्धी मुद्दामा पनि उनकै संलग्नता थियो ।

जमानीकर्ता बसेर कर्जा दुरुपयोग गर्ने मधुसुदन सिलवाल र उनीकी श्रीमती गीता पुरी सिलवालविरुद्ध पनि मुद्दा चलेको छ । एक समयका चर्चित फिल्म निर्माता सिलवाल सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा पनि कमल ज्ञवालीसँगै मुछिएका थिए । त्यस्तै, बैंकका कर्मचारीहरू नन्दराज जोशी, रामधन श्रेष्ठ, ईश्वर गुरुङ, सुमित अर्याल, प्रकाशकुमार सिंह, प्रकाश खतिवडालाई पनि मुद्दा चलाइएको छ । उनीहरू सबै फरार छन् ।

यसरी भएको थियो अनियमितता

१. श्रेया ट्रेडिङ कन्सर्न, जय शम्भु इन्टरप्राइजेज, रोशन राइस मिल र अशोकप्रभा शीतभण्डारको नाममा अनियमित रूपमा कर्जा प्रवाह भएको थियो । दिनेशकुमार मिश्र, बबिता मिश्र र रूपादेवी भट्ट सञ्चालक रहेको श्रेया ट्रेडिङलाई ०६७ चैतमा पाँच करोड कर्जा प्रवाह भएको थियो । ब्याजसहितको कर्जा नौ करोड ५७ लाख २१ हजार पुगेको थियो । सुनसरीको झुम्कास्थित नौ कट्ठा जग्गा कम्पनीमा रहेको स्टकका आधारमा सो कर्जा प्रवाह भएको थियो । कर्जाका लागि आसामीहरूको झुटो विवरण पेस भएको छानबिनमा खुलेको थियो । सो जग्गालाई मिलेमतोमा रोशन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन करोड ३० लाख ७० हजारको मूल्यांकन गरेको थियो । तर, लिलामीको क्रममा अधिकतम ३० लाखको बोलपत्र परेको थियो । श्रेया ट्रेडिङ कन्सर्नका सञ्चालकहरू हाल फरार छन् । केही विदेश पुगिसकेको स्रोत बताउँछ ।

२. काभ्रेका ज्ञानप्रसाद बस्ताकोटी सञ्चालक रहेको जय शम्भु इन्टरप्राइजेजलाई नौ करोड ५० लाख रुपैयाँ ओभरड्राफ्टका रूपमा कर्जा दिइएको थियो । ब्याजसहित सो कर्जा १४ करोड ३० लाख पुगेको थियो । सुनसरीको एकम्बामा रहेको जग्गा र दाङको नारायणपुरको जग्गा धितो राखेर सो कर्जा प्रवाह भएको थियो । जग्गाको नौ करोड मूल्यांकन गरिएको थियो । जब कि जग्गाको वास्तविक मूल्यांकनअनुसार ६९ लाख ३९ लाख मात्र मूल्य थियो । मिलेमतोमा ऋण नतिर्ने उद्देश्यले नै कर्जा प्रवाह गरिएको थियो । ऋणी बस्ताकोटी विदेश पुगिसकेका छन् ।

३. कुलप्रसाद पोखरेल सञ्चालक रहेको रोशन राइस मिललाई १२ करोड ८० लाख कर्जा प्रवाह भएकोमा ब्यासहित १६ करोड ७४ लाख पुगेको थियो । सो राइस मिलको अत्याधिक मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । सबै धितोको वास्तविक मूल्यांकमा ७६ लाख मात्र रहेकोमा करिब १८ करोड मूल्यांकन गरेर कर्जा दिइएको थियो । पक्राउ परेका ऋणी कुलप्रसादले आफ्नो नाममा कर्जा प्रवाह भए पनि कमल ज्ञवाली र उनका साथी मधुसुदन सिलवालले त्यसको प्रयोग गरेको बताएका छन् ।

४. प्रमोदकुमार देव, अजयकुमार देव र अशोककुमार देव सञ्चालक रहेको अशोकप्रभा शीतभण्डारलाई ११ करोड ६५ लाख कर्जा प्रवाह भएको थियो । ब्याजसमेत जोडेर पछि १६ करोड ८२ लाख पुगेको थियो । ०६७ असोजमा सो कम्पनीको नाममा कर्जा प्रवाह भएको थियो । जग्गाको मात्र १३ करोड मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । पुनः मूल्यांकन गर्दा सो जग्गाको वास्तविक मूल्य दुई करोड ६३ लाख भएको खुलेको थियो ।

यी चारैवटा कर्जा तत्कालीन सिइओ ज्ञवाली र बैंकका कर्मचारी मिलेर भएको थियो । कर्जाको अधिकांश रकम कार्यालय समयबाहिर साँझ ७–८ बजेको बीचमा भएको थियो । ज्ञवालीले आफूमातहतका कर्मचारीलाई पदीय प्रभावमा पारी कर्जा प्रवाहमा संलग्न गराएको बैंकको आन्तरिक छानबिन प्रतिवेदनमा उल्लेख छ ।

यसअघि पनि ज्ञवालीलाई कर्जा अनियमिततामा अदालतले दुईवटा बैंकिङ मुद्दामा दोषी ठहर गरेको थियो । छानबिन सुरु भएलगत्तै भागेका उनलाई महानगरीय अपराध महाशाखाले दुई महिनाअघि भारतबाट पक्राउ गरी ल्याएको थियो । भारतमा उनी जोगीको भेषमा भेटिएका थिए । उनकै अनियमितताका कारण किस्ट बैंक धराशायी भएपछि प्रभु बैंकले खरिद गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार