प्रायः पश्चिमेलीहरु जे कुरामा पनि शोध गर्न रुचाउँछन् । पछिल्लो समय गरिएको एउटा शोधमा दिनमा तीन पटक कफी पिउँदा मानिसको आयु लामो हुन सक्ने सम्भावना शोधकर्ताले व्यक्त गरेका छन् ।
यो शोध युरोपका दस देशका करिब पाँच लाख मानिसहरुमाथि गरिएको थियो । ३५ वर्ष उमेर समूहभन्दा माथिका व्यक्ति यस शोधमा संलग्न गरिएका थिए । एनल्स अफ इन्टरनल मेडिसिन नामक जर्नलमा छापिएको शोधमा एक कप अतिरिक्त कफी पिउँदा मानिसको आयु लामो हुन सक्छ । भलै यो कफी डिक्याफिनेटेड (क्याफिन निकालिएको) नै किन नहोस् !
अन्य केही विशेषज्ञहरुले भने शोधको परिणाममा शंका व्यक्त गरेका छन् । उनीहरुको भनाइ छ, कफीकै कारण उनीहरुको लामो आयु भएको निष्कर्ष निकाल्नु उचित छैन । उनीहरुले अपनाएको स्वस्थ जीवनशैलीका कारण आयु लम्बिएको हुन सक्छ । कफीको मात्रा बढाउँदा उमेर लम्बिनुपर्ने त्यस्तो खास कारण केही देखिँदैन ।
इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर एन्ड इम्पेरियल कलेज लन्डनका शोधकर्ताहरुले भने बढी कफी पिउनुले मुटु र पेटको रोगबाट मर्ने जोखिम कम देखिएको हो ।क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक सर डेभिड स्पिगलहाल्टर भन्छन्, ‘कफी पिउँदा मृत्युदर कम हुन्छ भन्न आँकलनका आधारमा म चाहिँ के सल्लाह दिन्छु भने एक कप कफी खाने मात्रा बढाउनुस् । हरेक दिन त्यति कफी पिउँदा पुरुषहरुको उमेर तीन महिना बढ्छ ।’ महिलाको आयु भने एक महिना बढ्ने देखिएको उनको भनाइ छ ।
हुन त यो शोध निकै गहन तरिकाले गरिएको दाबी स्पिगलहाल्टरको छ र पनि उनी भन्छन्, ‘यो शोध बिल्कूल सही छ र हामीबाट कुनै गल्ती भएको छैन भन्ने दाबी त म गर्दिनँ तर त्यो हाम्रो शोधले देखाएकै कुरा हो । यो शोधमा कफीभित्र त्यस्तो के चमत्कारी चिज छ, जसले मानिसको आयु बढाउँछ भन्ने पनि थाहा छैन तर कफी खानुस्, उमेर बढाउनुस् ।’
कहाँबाट आयो कफी ?
अहिले घर–घरको आवश्यकता बनेको कफी कहाँबाट आयो होला ? कफीलाई लोकप्रिय बनाउने काम इस्लामी आध्यात्मिकता र रहस्यवादले गरेको हो भन्ने धेरै कमलाई थाहा छ । धार्मिक तथा रहस्यात्मक कार्यमा मात्र कफीको प्रयोग गरिने हुनाले लामो समयसम्म यो गोप्य अवस्थामा रह्यो । अर्थात्, निकै कमलाई मात्र यसको ऊर्जा थाहा थियो । अहिले त यो घरघरको आवश्यकता बनिसक्यो ।
कहाँ पाइन्छ कफीको रुख
हिजोआज त नेपालमै पनि कफीको खेती सुरु भइसक्यो तर यसको उत्पादन पहिले पहिले ज्यादै गर्मी क्षेत्र ल्याटिन अमेरिका, सबसहारा अफ्रिका, भियतनाम र इन्डोनेसियामा हुन्थ्यो । जसै युरोपले संसारभर आफ्नो उपनिवेश बनाउन थाल्यो, ल्याटिन अमेरिका, अफ्रिका र दक्षिणपूर्वी एसियाबाट कफी, सूर्ती र चकलेट लगेर लोकप्रिय बनाउन थाल्यो ।
कफीको जन्मथलो लालसागरको दक्षिणी भेगमा रहेको यमन र इथियोपियाका पहाडी क्षेत्र हो । इथियोपियाको पठारमा एउटा भेडा गोठालोले जंगली कफीको विरुवाबाट बनेको पेयको सबैभन्दा पहिलो चुस्की लिएको थियो ।
त्यसपछि यसको खेती यमनमा हुन थाल्यो । उनीहरुले यसको नाम कहवा राखेका थिए । यही नाम अपभ्रंश हुँदै कफी या क्याफेजस्ता शब्द बनेका हुन् ।मूलतः कहवा शब्दको अर्थ रक्सी हुन्छ र यमनका सुफी सन्त ईश्वरलाई सम्झना गर्न र ध्यान गर्नका लागि यो प्रयोग गर्ने गर्थे ।
कफीको इतिहास
सन् १४१४ सम्म आइपुग्दा कफी मुस्लिमहरुको राजधानी मक्कामा निकै परिचित भइसकेको थियो र १५ औँ शताब्दीको सुरुवातमा यो युरोपको द्वार मानिने मेडिटेरियन क्षेत्रमा पुगिसकेको थियो ।
निकै लामो समयसम्म यसलाई सुफी सन्तहरुले मात्र प्रयोग गर्थे । मिश्रको एउटा धार्मिक विश्वविद्यालय नजिकैका घरमा यसको खेती हुन्थ्यो । पछि सिरियाको सहर अलेप्पो र अटोमन साम्राज्यको तत्कालीन राजधानी इस्तानबुलसम्म यसको लोकप्रियता फैलियो ।क्रमशः कफी हाउस खुल्न थाल्यो र त्यहाँ कफी खाँदै धेरै कुराको चर्चापरिचर्चा गर्थे, गीत र सायरी सुन्ने सुनाउने क्रम चल्थ्यो र चेस खेल्थे । ती कफी हाउस बौद्धिक जीवनका प्रतीक बन्न पुगेका थिए । मानिसहरु मस्जिदको साटो कफी हाउसतर्फ आकर्षित हुन थालेका थिए ।पछि मानिस धर्मबाट च्यूत नहोस् भन्ने डरका कारण मक्का, कायरो तथा इस्तानबुलका धार्मिक संगठनले यसमाथि प्रतिबन्ध लगाउने प्रयास गरे । कफी हाउसमाथि रक्सीभट्टीभन्दा पनि खराब र षडयन्त्रका अड्डा बन्न पुगेको आरोप लगाइएको थियो ।
मुराद चतुर्थ (१६२३–४०) को शासनकालमा कफी हाउस जानेहरुलाई मृत्युदण्डको समेत आदेश दिइएको थियो । सारा प्रयास विफल भएपछि अन्ततः मुस्लिम विद्वानहरुले कफी सेवन गर्नु कुनै पाप नभएको भन्दै अनुमति दिएका थिए ।
युरोपमा कफी
युरोपमा कफी दुई बाटोबाट पुग्यो । एउटा अटोमन साम्राज्यको माध्यमबाट र अर्को चाहिँ समुद्री बाटोबाट ।१७ औँ शताब्दीको सुरुताका इस्ट इन्डिया कम्पनी र डच इस्ट इन्डिया कम्पनीले मोचा नामक बन्दरगाहमा कफीको सबैभन्दा ठूलो किनमेल गरे । यसरी किनमेल चल्न थालेपछि उत्पादन पनि बढ्न थाल्यो । युरोपका कफी हाउसमा पनि असन्तुष्ट मानिसहरु भेला हुने र कुरा काट्ने क्रम बढेको देखेर चाल्र्स द्वितीय नाक शासकले भनेका थिए, ‘कफी हाउसमा असन्तुष्ट मानिस भेला हुन्छन् र सत्ताविरुद्ध दुष्प्रचार गर्छन् ।’
सुरुताका युरोपमा कफीलाई मुस्लिम पेय भन्ने सोचेर शंकाको नजरले हेर्थे । तर १६ औँ शताब्दीताका पोप क्लिमेन्ट आठौँले यसको एक कप पिएर यति आनन्दित महसुस गरे कि उनले तत्काल घोषणा गरे, ‘यति गज्जबको पेयमा मुस्लिमहरुको मात्र एकाधिकार हुनु हुँदैन ।’
१६८३ मा अस्ट्रिया तुर्कीहरुको कब्जाबाट मुक्त भएपछि कफी सेवन तीव्र रुपमा बढ्यो । तुर्कहरुका विभिन्न अखडाबाट ठूलो मात्रामा कफी जफत गरिएको थियो । भियनामा अझै पनि टर्कीका इस्तानबुल, दमिस्क र काहिराजस्ता सहरमा जस्तै कफीको प्यालासँगै एक गिलास पानी दिइन्छ ।
अरब जगतमा कफी पिउने विशेष परम्परा छ । खाडीमा अलि तीतो कफी पिइन्छ । यसमा इलाइची र अन्य मसला हालेर कफी बनाउने चलन छ । पाहुना आएको निकै बेरपछि मात्र कफी दिइन्छ । त्यहाँ चाँडै कफी दिनुको अर्थ पाहुनाबाट चाँडै पिण्ड छुटाउन खोजेको अर्थ लाग्छ ।
अचेल कफी विश्वव्यापी भइसकेको छ । पहिला कफीको नम्बर एक उत्पादक मुलुकका रुपमा रहेको यमनमा भने यसको उत्पादन क्रमशः घट्दै गइरहेको छ । अन्य ठाउँबाट सस्तो दरमा आयात हुने र कफीभन्दा अन्य बालीमै नाफा हुन थालेपछि किसानहरुले कफीको खेती क्रमशः घटाउँदै जान थालेका हुन् ।