काठमाडौं : सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ काठमाडौं नफर्केको ६० दिन नाघ्यो। मर्मत गरेर कहिले ल्याइने हो टुंगो छैन।
निगम व्यवस्थापनले वेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो। ‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्यो मर्मत हुँदैछ’, निगमका अधिकारीले भने, ‘उता नयाँ वर्ष र क्रिसमस चलेकाले जहाज काठमाडौं कहिले आउँछ टुंगो लागिसकेको छैन।’
ती अधिकारीका अनुसार यो पटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ। यो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ।
विमान लिलाम गर्ने प्रक्रिया थालिसकेकाले मर्मत गर्ने कि नगर्ने भन्ने अलमल देखिएको अर्का एक निर्देशकले जनाए।