‘मै बनाउँछु मेरो धरहरा’ – धरहराको टुप्पोबाट काठमाडौँ हेर्न मन छ : प्रधानमन्त्री ओली

– विशाल सापकोटा

काठमाडौं । विनासकारी भूकम्पले भत्किएको ऐतिहासिक सम्पदा धरहराको औपचारिक पुनर्निर्माण शुरु भएको छ । दुईवर्ष पहिले प्रधानमन्त्री केपी ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भनेका थिए । विहीबार उनले धरहरामा चढेर काठमाडौं हेर्ने मनोकांक्षा प्रकट गरेका छन् ।

भत्किएको धरहराकै ठूटोको आडैमा बन्न लागेको नयाँ धरहराको जगमा इँटा राखेर ताम्रपत्र अनावरण गर्दै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे ।
धरहरा पुनर्निर्माणलाई सरकारले समेत उच्च प्राथमिकता दिएको झल्को शिलान्यास समारोहमा देखिन्थ्यो ।

शिलान्यास प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले गर्ने पूर्वनिर्धारित तालिका थियो । तर, कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित झण्डै आधा दर्जन मन्त्रीहरुसमेत पुगे ।

‘मै बनाउँछु’ भन्दै अनेक थरी प्रयास

३ वर्ष ८ महिना अघि ०७२ वैशाख १२ को भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण कहिले नेपाल टेलिकम, कहिले काठमाडौं महानगरपालिका त कहिले चन्दा उठाएर गर्ने चर्चा पनि रहृयो ।नेपाल टेलिकमले धरहरालाई व्यवसायिक मोडालिटीमा बनाउने भनेपछि पुरातत्व विभागले रोक्यो ।टेलिकमले आफैंले नबनाएपछि धरहरा पुनर्निर्माणका लागि झण्डै एक अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

टेलिकम पछि हटेपछि चन्दा उठाएर धरहरा पुनर्निर्माण गर्ने बहस शुरु भयो । त्यसै दौरान ०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले धरहराकै फेदबाट ‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको शिलान्याससमेत गरेका थिए ।तर, प्रधानमन्त्री ओलीकै शब्दमा त्यो अभियान अपेक्षितरुपमा अघि बढ्न सकेन र ‘ब्रेक’ लाग्यो ।

अन्ततः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै अग्रसरतामा धरहरा निर्माण थालिएको छ । प्राधिकरणसँग भएको सम्झौताअनुसार ठेकेदारले काम गरे अबको ठ्याक्कै २ वर्षपछि धरहराले आफ्नो पुरानै विरासत पाउनेछ ।

पुरानै स्वरुपको बन्ने दाबी

शिलान्यासपछि प्रधानमन्त्री ओलीले भनेझैं धरहरा पुरानै स्वरुपको तर, अत्याधुनिक बन्नेछ ।अब बन्ने धरहरामा लिफ्टदेखि पार्किङसम्मका विविध सुविधा हुनेछन् । प्राधिकरणका कार्यकारी निर्देशक -सीईओ) सुशील ज्ञवालीले प्राचिन सम्पदाहरुलाई पुरानै स्वरुपमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।अब बन्ने धरहराको भुईं तलामा पुनर्निर्माणका क्रमका तस्वीरहरु संग्रहित गरेर प्रदर्शनीमा राखिने उनले बताए ।

ठेकेदार कम्पनी रमन जेभीका प्रतिनिधि रमन महतोले तोकिएको समय (९ अक्टोबर २०२०) भित्रै धरहराको निर्माण सक्ने प्रतिबद्धता जनाए ।‘धरहरा निर्माणको जिम्मा हामी दृढ संकल्पका साथ तोकिएको समयमा पूरा गर्नेछौं, यसको निर्माण नेपालको उत्कृष्ठ इञ्जिनियरिङको नमूना पनि बन्नेछ’, उनले भने ।इञ्जिनियरिङ जगतमा नेपाली पनि कमजोर नरहेको दृष्टान्त धरहरा निर्माणपछि देखिने उनको दावी छ ।

२ वर्षमा ठडिएला त धरहरा ?

गत १० सेप्टेम्बरमा प्राधिकरणले टेण्डर आहृवान गरेर जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको ठेक्का दिएको हो ।सम्झौता अनुसार रमन जेभीले १० अक्टोबरदेखि काम थाल्ने भनिएपनि २१ दिन ढिलोगरी निर्माणस्थलमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने लगायतका काम थालेको थियो ।टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

रमन जेभीले नयाँ धरहराको जग खन्ने काम सकिसकेको छ । यस्तै भत्किएको धरहराकोठूटोमाथि छत राख्ने काम सकिएको छ, अब त्यसलाई चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लास (सिसा) ले घेरेर संरक्षण गर्ने योजना छ ।धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।रमन जेभीले ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँमा यो ठेक्का पाएको हो ।

अब बन्ने धरहरा बाहिरबाट ११ तला र भित्रबाट २२ तलाको हुनेछ भने टुप्पोको गजुरहित ७९ दशमलब २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ ।विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’ मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । लिफ्ट एक पटकमा १० जनासम्म चढ्न सक्ने हुने भनिएको छ ।लिफ्टबाट धरहराको भित्री भागको २०औं तलासम्म पुग्न सकिनेछ र त्यहीँबाट काठमाडौं अवलोकन गर्ने व्यवस्था हुनेछ । २० औं तलाको उक्त अवलोकन कक्षमा एक पटकमा ५४ जनासम्म अटाउनेछन् ।धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ ।

बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ ।

म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ । धरहरा छिर्नेबित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् ।धरहरा परिसरमा तीनतले पार्किङ हुने छ । पार्किङमा ३४७ वटा सवारी र ७०० वटासम्म मोटरसाइकल अट्ने बताइएको छ ।

पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।धरहराको क्षेत्र विस्तार गर्न सुन्धारा आडैमा रहेको राष्ट्र बैंकको टक्सार विभागलाई समेत त्यहाँबाट हटाउने तयारी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार