भिभिआइपीका लागि भनेर खरिद गरेको डेढ अर्बको हेलिकोप्टर सुत्केरी बोक्न पनि प्रयोग हुनेभन्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा बचाउ

डेढ अर्बको हेलिकोप्टर, सुत्केरी बोक्न पनि प्रयोग हुने

काठमाडौं – सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्।

‘राष्ट्रपतिकै लागि भनेर हेलिकोप्टर खरिद गरिएको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सकारले गरेको निर्णयअनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा तान्न खोजिएको छ। त्यो हेलिकोप्टरले भिभिआइपीमात्रै बोक्दैन, दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने। उनका अनुसार सो हेलिकोप्टरलाई गृह मन्त्रालयको निर्णयबिना अरुले सञ्चालन गर्न नपाउने व्यवस्था पनि गरिएको बताए। सरकारले उपचारबाट वञ्चित भएका सुत्केरी हुन नसकेका महिलाको उद्धार हेलिकोप्टरबाट गर्ने निर्णय गरिसकेको जानकारीसमेत मन्त्री बास्कोटाले दिए।

हेलिकोप्टरले भिभिआइपीमात्रै बोक्दैन, दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ ।
उनले सो हेलिकोप्टर राष्ट्रपतिकै लागि भनेर खरिद नगरेको दाबी गरे। उनका अनुसार २०७३ साउन १३ गते रक्षा मन्त्रालयले ८ अर्ब ५६ करोड खर्च गरेर चारवटा हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको थियो। त्यो विपद् व्यवस्थापन, शान्ति सुरक्षा, नोट ओसारपसार गर्न तथा विस्फोटक पदार्थ ओसारपसार गर्नका लागि खरिद गर्ने निर्णय गरेको हो। उनका अनुसार अहिले ल्याइएको हेलिकोप्टर २०७४ जेठ १८ अमेरिकी डलर १ करोड ४३ लाखमा खरिद गर्ने निर्णय गरेको थियो। २०७४ माघ १० गते मन्त्रीस्तरीय बैठकबाट प्रतीतपत्र खोल्ने निर्णय तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधानले गरेको उनले बताए। ‘अहिले आएको पनि राष्ट्रपतिका लागि होइन, राष्ट्रपतिकै लागि हो भनेर जबरजस्ती प्रचार गर्न खोजियो, यो गणतन्त्रप्रतिको वितृष्णा हो,’ उनले भने ।

रेल किन्न ५० करोड

सञ्चारमन्त्री बाँस्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रुपैयाँ बजेट छुट्याएको बताए। उनका अनुसार रेल कन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको भए पनि ततकालका लागि ५० करोड छुट्याइएको हो। भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा रेल किन्ने तयारी गरेको हो। बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुरसम्म रेल सञ्चालन हुने दाबी गरे। उनका अनुसार रेलको लिग ओछ्याउने काम सम्पन्न भइसकेको छ। जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल सञ्चालन हुन लागेको हो ।

स्वकीय सचिवले लिने गाडी सुविधाको बचाउ

बाँस्कोटाले मन्त्रीका स्वकीय सचिवले लिने गाडी सुविधाको बचाउ गरेका छन्। ९–१० बजे रातिसम्म काम गर्नुपर्ने स्वकीय सचिवलाई हिँडाएर घर पठाउन अप्ठ्यारो पर्ने भएकाले गाडी सुविधा लिने गरेको उनले बताए। ‘काम गर्दागर्दै सिंहदरबारमै राति ९–१० बज्छ, के मन्त्रीका पिएहरू सडकमै सुत्नुपर्ने हो ? त्यसो हो भने भोलिदेखि प्रधानमन्त्री र मन्त्री यो देशमा हुनुहुँदैन भन्ने अतिवादी सोच कसैले पनि नराखाैँ,’ सञ्चारमन्त्री बाँस्कोटाले भने। उनले स्वकीय सचिवले पाउने रकम कतिपयको मन्त्रीको खातामा जाने र कतिपयको मन्त्रीको सचिवालय खातामा जाने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार