-नवीन झा
काठमाडौं : राजधानीमा कांग्रेस महासमिति भेला सुरु भएको छ । शनिबारको उद्घाटन समारोहमा सबै शीर्ष नेताले आन्तरिक एकता नहुँदा कांग्रेस कमजोर भएको स्वीकारेका छन् । गुटउपगुटमा अभ्यस्त नेताहरूले महासमितिमा भने आपसी एकताको अपरिहार्यतामा जोड दिए । राजधानीको बग्गिखानास्थित पार्टी प्यालेसमा सुरु भएको भेलामा बोल्दै सभापति शेरबहादुर देउवाले भने, ‘हामी सधैं सबै कुरामा विभाजित भइहाल्ने, अब पनि हामी एक भएनौं भने कसरी अगाडि बढ्न सक्छौं ? आजैदेखि सबै रिसराग असन्तोष त्यागेर एक हौं ।’
शनिबार काठमाडौंमा सुरु भएको महासमिति भेलामा उपस्थित कांग्रेस शीर्ष नेताहरु । तस्बिर : अशोक दुलाल
उनले कांग्रेसभित्र धेरै पहिलेदेखि आन्तरिक एकता नहुनुमा अनुशासन पनि प्रमुख प्रमुख कारक रहेको बताए । केन्द्रदेखि तल्लो तहसम्म अनुशासन कायम गर्न पनि देउवाले जोड दिए । ‘२०४६ पछि कांग्रेस एकपटक निर्वाचनमा सफल हुने र अर्कोपटक खस्कने रोग देखिनुको मुख्य कारण आन्तरिक समस्या नै हो’, उनले भने ।
देउवाले आफू नेतृत्वमा आएदेखि भएका कमीकमजोरी सुधारेर अघि बढ्ने पनि बताए । उनले भने, ‘मेरो गल्तीको आलोचना खुलेर गर्नुहोला । म सुधार गरेर अघि बढ्ने छु ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रमा मात्र होइन जिल्ला तहमा पनि एक–अर्कालाई छड्के हान्ने परम्परा रहेको भन्दै आन्तरिक एकतामा जोड दिए । उनले आफू केन्द्रमा पनि पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी थिति बसाउन लागिपरेको बताए ।
‘गुटउपगुट मलाई मनै पर्दैन तर यो दलभित्र सधंै देखिन्छ’, उनले भने, ‘यसलाई नेतृत्वले व्यवस्थापन र सम्बोधन गर्न सक्नुपर्छ । बीपी कोइरालाकै पालामा समेत गुटउपगुट देखिएको थियो । पार्टी नेतृत्व गर्नेले यसलाई व्यवस्थापन गर्न सके र स्वच्छ आलोचना पचाउन सके पार्टी बलियो र लोकतान्त्रिक बन्नेछ ।’
उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको चाहना सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सहकार्य नै रहेको बताए । ‘हामीले पार्टी बलियो बनाउँदै आउँदो निर्वाचनमा सफलता हासिल गर्ने हो भने आपसी मतभिन्नता त्याग गर्दै संगठन बलियो बनाउन लाग्नैपर्छ,’ उनले भने, ‘विगतको निर्वाचन परिणामलाई लिएर आपसमा आरोपप्रत्यारोप गर्नभन्दा भविष्यको योजनामा एकजुट भएर लाग्नु सबैको हितमा छ ।’
फोरम लोकतान्त्रिकबाट पुनः कांग्रेसमा फर्केर उपसभापित बनेका विजय गच्छदारले महासमिति भेलाकै मञ्चबाट शीर्ष नेताहरूले एकताको सन्देश दिएर कम्युनिस्टसँग लड्न अघि बढ्नुपर्ने बताए । ‘सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचमा देखिएको तिक्तता हटाउन म स्वयं सक्रिय हुनेछु,’ उनले भने, ‘मञ्चमा नै हात मिलाएर सन्देश दिन दुवै जनालाई आग्रह गर्छु ।’
महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच एकता हुनुपर्ने र त्यसका लागि आफूले भूमिका खेल्न तयार रहेको बताए । ‘म सधंै पार्टीभित्र सबै एक हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले मुख्य दुई नेताबीच देखिएको तिक्तता मेटाउनुपर्छ । त्यसका लागि के गर्नुपर्छ त्यो गर्न म तयार छु,’ उनले भने ।
महामन्त्री पूर्णबहादुर खड्काले पार्टीमा देखिएको समस्या सुधार गर्न सबैले आफैबाट पहल गर्नुपर्ने धारणा राखे । ‘म आफ्नो कमजोरी आजैबाट सुधार्ने प्रतिबद्धता गर्छु । यहाँहरूले पनि यसमा जोड दिन आवश्यक छ,’ उनले भने ।
केन्द्रीय सदस्य कृष्ण सिटौलाले महासमितिले पार्टीलाई ठीक दिशा दिन नसके कांग्रेसमा झनै असजिलो अवस्था सिर्जना हुन सक्ने बताए । ‘केन्द्रले नै सबै विषय जान्दछ भन्ने नसोची महासमित सदस्यहरूसँग खुलेर बहस गर्न यो महासमिति भेलालाई म अपिल गर्छु । पार्टीको मुख्य जरा यही भेला हो, केन्द्र मात्र होइन,’ सिटौलाले भने, ‘यहाँहरूको सुझावले नै दल अघि बढ्ने हो ।’
पूर्वमहामन्त्री तारानाथ रानाभाटले पार्टीको अस्तित्व संकटमा परेको भन्दै केन्द्रीय नेतृत्वले आआफ्नो गुट चलाउनुलाई दुर्भाग्यपूर्ण भने । ‘अस्तित्व संकटमा पारेर गुट उपगुट चलाउनु हुँदैन । यसमा नेतृत्व सचेत हुने र समाधान खोज्नेतर्फ लाग्न आवश्यक छ,’ उनले भने । पूर्वउपसभापति प्रकाशमान सिंहले १३आंै महाधिवेशनपछि पार्टीमा बेथिति बढ्न थालेको भन्दै त्यसप्रति सबैलाई ध्यान दिन आग्रह गरे ।
कोषाध्यक्ष सीतादेवी यादवले पार्टीमा व्यापक सुधारको खाँचो रहेको औंल्याइन् । केन्द्रीय नेतृत्व सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन् । सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको कमीकमजोरीलाई सुधार गर्दै आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिए ।
महासमितिले आन्तरिक तिक्तता मेटाउँदै नवीन उर्जाको साथ अघि बढ्ने प्रेरणा दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘१५ वर्षमा लगातार तीन निर्वाचन जितेर देशलाई समृद्धिको दिशामा लैजाने संकल्प महासमितिले गर्न आवश्यक छ,’ उनले भने । भेलामा डा. रामशरण महत, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चित्रलेखा यादव, गोपालमान श्रेष्ठलगायतले पनि बोलेका थिए ।
सरकारको आलोचनामा एकै स्वर
सभापति देउवासहित उद्घाटन सत्रमा बोल्नै सबै नेताहरूले सरकारको कडा आलोचना गरेका छन् । उनीहरूले महासमितिलगत्तै सरकारविरुद्ध सडक संघर्षको प्रस्ताव समेत गरे ।
‘सरकार निर्मला पन्तको हत्यारालाई संरक्षण गरेको छ । न्याय माग्नेहरूलाई गिरफ्तार गरेर सरकारले न्यायिक राज्यको खिल्ली उडाएको छ,’ देउवाले भने, ‘सरकार पूर्ण रूपमा स्वेच्छाचारी बनेको छ । बुद्धिजीवीहरूको सल्लाह लिएर अघि बढ्न पर्नेमा उल्टै उनीहरूको खिल्ली उडाउने काम गर्दै आएकोले सरकारको हैसियत पुष्टि हुन्छ ।’
वरिष्ठ नेता पौडेलले सरकार कम्युनिस्ट स्कुलिङको आधारमा जनताकेन्द्री हुनुभन्दा नेताकेन्द्री हुँदै अघि बढेको बताए । ‘यो सरकारले मुलुकमा विकास र समृद्धि ल्याउनै सक्दैन,’ उनले भने, ‘सरकारको कामभन्दा हल्ला धेरै भइरहेको छ । चौतर्फी भ्रष्टाचार र अराजकता मौलाएको छ ।’ उपसभापति निधिले सरकारको पछिल्लो क्रियाकलापविरुद्ध महासमितिपछि सडक संघर्षको प्रस्ताव नै गरे ।
कांग्रेसलाई भित्तामा पु¥याउने प्रधानमन्त्री केपी ओलीको आफ्नै नेतृत्व सरकारको नै हावा फुस्किसकेको उपसभापति गच्छादारको आरोप थियो । ‘कम्युनिस्टहरू जतिसुकै एकीकृत भएपनि मुलुकमा परिवर्तन र विकासको लागि कांग्रेस नै आवश्यक छ,’ उनले भने, ‘परिवर्तन कसको नेतृत्वमा आयो र संधिवान कसको नेतृत्वमा लेखियो ? यत्ति नै मात्र हेरौं ।’
पूर्वमहामन्त्री सिटौलाले सरकार न त जनतामाझ न संसद्मा देखिएको बताए । ‘यो सरकार निश्चित नेताहरूको निहित स्वार्थको घेराबन्दीको फन्दामा परेको छ,’ उनले भने ।
नेता डा. रामशरण महतले मुलुकको अर्थतन्त्र उकास्न र विश्व समुदायमा देखिन कांग्रेस सशक्त भएर आउनुको विकल्प नभएको दाबी गरे ।
प्रवक्ता शर्माले कांग्रेसले कार्ल माक्र्सले छाडेको दर्शन बोकेर कहिल्यै नहिंड्ने धारणा राखे । उनले भने, ‘माक्र्सले रोगको पहिचान गर्ने प्रयत्न गरे । मेडिसिन प्रेस्क्राइब गर्न भ्याएनन् । त्यो रित्तो पन्नामा दुनियाँभरिका कम्युनिस्टले अनेक प्रकारले मेडिसिन लेख्दा सिंगो दुनियाँले दुःख पाइरहेको छ ।’ उनले माक्र्सले छाडेर गएको दर्शनमा नभएर बीपी कोइरालाले छाडेर गएको लोकतान्त्रिक समाजवादमा कांग्रेसले विश्वास गर्ने चर्चा गरे ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश
उद्घाटन सत्र सकिएलगत्तै शनिबार साँझ महासमितिको बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश भएको छ । आइतवार बिहानदेखि पुनः बस्ने भेलामा अरु तीन प्रतिवेदन पनि पेश हुने छन् ।
महासमिति सदस्यहरूले प्रादेशिक स्तरमा समूह बनाएर छलफल गर्ने तय भएको छ । मुख्य किचलो रहेको विधान मस्यौदा पेस भएको छैन । पेश हुनुअघि शीर्ष नेताहरूले अनौपचारिक छलफल गरिरहेका छन ।
उद्घाटन सत्रमा बोल्दै नेताहरूले केही बुँदामा असहमति बाँकी रहेको र त्यसमा सहमति कायम गर्ने प्रयास भइरहेको बताए । ‘विधान मस्यौदा समग्रमा प्रशंसायोग्य नै छ । तर केही विषयमा सहमति कायम गर्न आवश्यक छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘सहमतिपछि पेस हुनेछ ।’
विधान मस्यौदा समितिका संयोजक तथा महामन्त्री खड्काले भने, ‘शीर्ष तहमा सहमति कायम हुनेमा म विश्वस्त छु ।’ विधानमा पदाधिकारी संख्यामा सहमति भएपनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा नेतृत्व विभाजित छ । सभापति देउवा मनोनित गर्ने पक्षमा छन् भने सभापतिइतर समूहका नेताहरू सबै पदाधिकारी निर्वाचित हुनुपर्नेमा छन् ।
नेता अर्जुननरसिंह केसीले पार्टीमा नेताको परिक्रमा गर्ने पद्धति हटाउन पदाधिकारी निर्वाचित हुनुपर्नेमा जोड दिए । नेता सिटौलाले पार्टीमा सधैं सदस्यता विवाद सिर्जना हुने भएकाले सदस्यता वितरण वडा तहमै दिनुपर्ने बताए ।
पार्टीको तल्लो निकायलाई जिम्मेवार बनाउँदै लगे त्यसले केन्द्र थप बलियो हुने सिटौलाको विचार थियो । कोषाध्यक्ष यादवले पनि सबै निर्वाचित हुनुपर्नेमा जोड दिइन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पार्टीको नयाँ विधानले महिलालाई स्थान दिनुपर्ने जोड दिइन् । सभापति देउवाले सहभागीहरूको सम्मानमा शनिबार रात्रिभोज दिएका छन् ।