क्रिश्चियन प्रचारको कार्यक्रम ‘पिस समिट’ यसरी छले प्रचण्ड, झलनाथ र नारायणकाजीले

क्रिश्चियन प्रचारको कार्यक्रम भनेर विवादमा आएको ‘पिस समिट’ नेकपाका के पी ओली, माधव नेपाल आयोजककै हैसियतमा रमाएको देखियो । तर नेताहरु प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ तीनैजना नदेखिए पछि ओली समुहले यस बारे खोजि गरिरहेको छ । तीनैजना नेता अन्तर्राष्ट्रिय सम्बन्ध मामिलामा रुचि राख्ने नेता हुन्। नेकपा बन्नुअघि नेपाल र खनालले पटक पटक एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए। श्रेष्ठले पनि माओवादी केन्द्रको विदेश विभागको जिम्मेवारी लिएका थिए ।

तर, एसियाका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन’ (आइक्याप) संलग्न भएकाे भनिएकाे एसिया-प्यासिफिक सम्मेलनमा खनाल र श्रेष्ठ दुबै जना देखिएनन्। खनाल त अझ सम्मेलनको दोस्रो दिन काभ्रेको धुलिखेलमा ‘१३ औं अन्तर्राष्ट्रिय शीतकालिन आवासीय स्कूल’ को उद्घाटनका लागि हानिए।

आइक्यापको स्थायी समिति सदस्य समेत रहेका खनाल काठमाडौँमा जारी समिट छाडेर नामै नसुनिएको ‘शीतकालिन आवासीय स्कूल’ को कार्यक्रममा जानुको कारण थियो, क्रिश्चियन धर्म प्रचारसँग सम्बन्धित ‘युनिभर्सल पिस फेडेरेसन’ (युपिएफ) नामक विवादित संस्थाको आवद्धता।

एमाले नेता माधव नेपालले सुरुमा यो ‘समिट’ को आयोजना ‘आइक्याप’ को तर्फबाट गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका नेताहरुलाई ‘कन्भिन्स’ गराएका थिए। तर, यसको आयोजक तथा प्रायोजक ‘युपिएफ’ नै भएकाे खुलाशा भयो, त्यसपछि नेताहरु विस्तारै तर्किन थाले।

दुई दिने (१५-१६ मंसिर) समिटको समापनमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथिका रुपमा उपस्थिति हुने भनिएको थियो। सोल्टी होटलमा समापन कार्यक्रम चलिरहँदा अध्यक्ष प्रचण्डचाहिँ भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा ‘दाँतको उपचार’ गरिरहेका थिए।

प्रचण्डको सचिवालयले अघिल्लो दिन नै ‘होलबडी चेकअप’ का लागि उनी सो अस्पताल पुगेको र बाँकी ‘चेकअप’ का लागि आइतबार पनि गएको बताएको छ। यो तर्क त्यति विश्वसनीय छैन। प्रचण्डजस्तो नेताको ‘होलबडी चेकअप’ का लागि पूर्व निर्धारित कार्यक्रम नै छाड्नु पर्ने स्थिति नहुनु पर्ने हो।

जनयुद्धकालदेखि नै माओवादीले ‘धर्म निरपेक्षता’ को वकालत गर्दै आएको थियो। खासमा हिन्दूवादी भाजपा भारतमा सत्तारुढ भएपनि भारत पनि अहिलेसम्म धर्म निरपेक्ष राष्ट्र नै हो। नेपालका ‘हिन्दूवादी धर्मान्ध’ हरुले ‘धर्मनिरपेक्षताको वकालत गर्नु भनेको क्रिश्चियन हुनु हो’ भनेर माओवादीलाई क्रिश्चियनहरुको पार्टी भनेर प्रचार गरिदिए।

त्यसको मार माओवादीले दोस्रो संविधान सभा निर्वाचनमा बेहोर्नु पर्याे। अहिले पनि धर्मान्ध हिन्दू र दरवारियाहरुले यही कारण प्रचण्डप्रति प्रहार गर्ने गरेका छन्।

त्यसैले, पछिल्लो समय प्रचण्ड धर्मसँग सम्बन्धित विवादबाट टाढै रहन रूचाउँछन्। पूर्व निर्धारित समापन कार्यक्रममा सहभागी नभई अध्यक्ष प्रचण्ड ‘होलबडी चेकअप’ को बहानामा मेडिसिटी पुग्नुको भित्री कारण पनि यही थियो।

प्रचण्ड लामो समयदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगका विमारी हुन्। उपचारका लागि उनी पटक पटक अस्पताल गइरहन्छन्। तर, ती ‘चेकअप’ बारे प्रचण्डको सचिवालयले कहिल्यै तस्वीरसहितको समाचार संप्रेषण गर्दैन। यसपटक चाहिँ तस्वीर नै सार्वजनिक गर्नुलार्इ प्रधानमन्त्री अाेली, माधवकुमार नेपाललार्इ दिएकाे जवाफकाे रूपमा विश्लेषण गरिएकाे छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका कार्यशैलीका विषयमा नेता नेपालले उठाएका प्रश्नप्रति सहमत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सुरुदेखि नै यो समिटप्रति असहमत थिए। स्रोतका भनाईमा, पार्टी सचिवालय बैठकहरुमा उनले पटक पटक यस विषयमा प्रश्न उठाउने गरेका थिए।

विवादित संस्था आयोजक र प्रायोजक रहेको कार्यक्रमको नेकपाका बरिष्ठ नेता अगुवा हुनु हुँदैन भन्नेमा अध्यक्षद्वय ओली र प्रचण्ड पनि थिए। तर, सिधै त्यसको विरोध गर्दा नेपाल भड्किन सक्ने र त्यसले नेकपाभित्रको सन्तुलनमा असर पर्ने भएकाले उनीहरु त्यस विषयमा मौन नै रहन चाहे।

प्रचण्ड र खनालले विभिन्न बहाना बनाएर कार्यक्रममा सहभागिता जनाएनन् भने श्रेष्ठले चाहिँ नेपाललाई स्पष्टसँग आफू असहमत रहेको बताएर कार्यक्रममा सहभागिताबाट पछि हटे।

खासमा नेपालले आफ्नो ‘अन्तरार्ष्ट्रिय छवि’लाई अझ उँचाे देखाउन यो समिटको आयोजनाको प्रबन्ध मिलाएका थिए। यो उनका लागि बुमर्‍याङ हुन पुग्यो। नेकपाभित्रै यो विवादको विषय बन्यो। पार्टीभित्रको आन्तरिक ध्रुवीकरणमा नेपाललाई साथ दिँदै आएका नेकपाका नेताहरु समेत उनीबाट बिच्किए।

‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन, राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो’ नेपाल निकट नेकपा नेता भीम रावलले ट्वीटरमा लेखे, ‘शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ, नभने सरकारले खोजेर भन्नु पर्छ।’

यो प्रकरणले प्रम ओली, नेता नेपाल र समग्र नेकपालाई कति हानी पुगेको छ भन्ने कुरा नेकपाका अर्का नेता घनश्याम भूषालको कथनले पनि प्रष्ट पार्छ। जस्तो कि, उनले ट्वीटमा लेखेका छन्, ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार