काठमाडौं : हलिउडका महान अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन् । पछिल्लो साता काठमाडौंमा ओर्लिएका ८१ वर्षे फ्रिम्यान आफ्नो रियालिटी शो ‘स्टोरी अफ गड’को सूटिङका लागि आएको बुझिएको छ ।
यस क्रममा उनले यहाँका थुप्रै धार्मिक तथा सांस्कृतिक स्थल र खासगरी मन्दिरहरु घुम्ने छन् । यही शिलशिलामा फ्रिम्यान अचानक नेपाली पोशाकमा सार्वजनिक स्थलमै झुल्किएका छन् । अमेरिकी राजदूतावासले उनी नेपाली पोशाकमा सजिएको तस्बिर पहिलो पटक सार्वजनिक गरेको हो ।
संस्कृतिको महत्वबारे उल्लेख गर्दै दूतावासले मोर्गनको तस्बिर सार्वजनिक गरेको छ । तर मन्दिरछेउमा उभिएको उनको तस्बिर ठ्याक्कै कुन ठाउँ भनेर चिनिएको छैन ।
शताब्दिकै महान फिल्म मानिएको ‘ससांक रिडम्पसन’का अभिनेता तथा निर्देशक मोर्गन फ्रिम्यान ओस्कार विजेता हुन् । केही महिनाअघि अमेरिकामा सुरु भएको लैंगिक हिंसाविरुद्ध ‘ह्यासट्याग मी टू’ अभियानले भने उनलाई पनि आरोपित गरेको थियो ।
फ्रिम्यानले कामको शिलशिलामा थुपै युवतीलाई असहज लाग्ने व्यवहार र यौन हिंसा गरेको भन्दै आरोप लागेको थियो । फ्रिम्यानले भने ती आरोप स्वीकार गर्दै माफी मागिसकेका छन् ।