काठमाडौं : एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौंमा जारी ‘एसिया प्यासिफिक समिट–२०१८’ को खर्च, उद्देश्य लगायत विषयलाई लिएर आपत्ति जनाएका छन् ।
उनले निम्तो कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै सरकारका प्रतिनिधि पनि विदेशीको उद्देश्यबाट प्रभावित भएको बताए । कार्यक्रमको तामझामका लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको भन्दै त्यसको पारदर्शितामाथि पनि उनले प्रश्न उठाएका छन् ।
‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ,’ डा. लोहनीले भने, ‘सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो ?’
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् । चर्चका पादरीबाट आशिर्वाद लिनुपर्ने नियममा आपत्ति जनाउँदै उनले भने, ‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो । आर्शिवाद लिनु परे नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुन्छ नी ।’
नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा डा. लोहनीको आपत्ति छ । प्रकारान्तरले नेपालका नेताहरु पनि त्यही संस्थाको परिवार भएको भन्दै लोहनीले यो सम्मेलनले ईशाई धर्मलाई बढावा दिएको बताएका छन् । आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित रहेको जिकिर गरे । यसबाहेक कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने उनको भनाइ थियो ।