धनगढी– नेपथ्य ब्यान्डको पूर्वपश्चिम सांगीतिक यात्रा शनिबार धनगढीमा सम्पन्न् भएको छ। पूर्वी नेपालको बिर्तामोडबाट मंसिर ४ गते सुरु भएको यात्रा धरान, बुटवल हुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।
‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरुसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब चाहीं युद्धपछि सुधारोन्मुख नेपाल देखा पर्न लागेकामा खुसी छु।’
धनगढीमा नेपथ्यको यो चौथो उपस्थिति थियो। यसअघि २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियानअन्तर्गत ब्यान्डले यहाँ आफ्नो प्रस्तुति देखाएको थियो।
पहिलेजस्तै यसपटक पनि धनगढी रंगशाला प्रांगणमा जम्मा भएका दर्शकहरुमा विविधता देखिन्थ्यो। तिनै मध्येकी एक थिइन्– विमला विष्ट। ८ वर्षे छोरा र ३ वर्षीया छोरी साथैमा लिएर आएकी विमलाको निम्ति यो नेपथ्यको पहिलो कार्यक्रम थिएन।
यसभन्दा अघिल्लोपटक २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रामा संलग्न भर्इ नेपथ्य धनगढीमा प्रस्तुत हुँदा उनी दस कक्षामा अध्ययनरत छात्रा थिइन्। उनी पढ्ने त्रिनगर विद्यालयमा नै त्यो कार्यक्रमको आयोजना भएको थियो। त्यतिबेला एक छात्राका रुपमा नेपथ्यको कन्सर्ट हेरेकी विमला यतिबेला आफ्ना छोराछारीसहित उपस्थित हुँदा त्यही पुरानो दिनलाई फेरि सम्झना गरिरहेकी थिइन्।
पहिले दिउँसो कन्सर्ट आयोजना भएको स्थानमा अहिले राति भइरहेको परिस्थिति नै उनको निम्ति बदलिँदो समयको उदाहरण थियो।
‘द्वन्दकालको त्योबेला साँझपख भेला हुन त परको कुरा हिँडडुल गर्न पनि डरमर्दो थियो,’ उनले भनिन्, ‘आज चाहीं म साना केटाकेटीसमेत साथमा लिएर यसरी रातिको कार्यक्रम हेर्न सक्ने भएकी छु।’
विमलाले बिहीबारको कन्सर्टमा आफूमात्र नभर्इ धनगढीका थुप्रै चिनेजानेका मानिसहरु आफ्ना बालबच्चासहित उपस्थित भएको जानकारी दिइन्। ‘उतिबेला विद्यार्थी हुँदाजस्तै आज पनि रमाइलो लागिरहेको छ,’ विमलाले थपिन्, ‘नेपथ्यको अनुभवले पुरानो समयसँग जोड्दो रहेछ।’
धनगढी कन्सर्टको सुरुवातमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्उो। म्यूजिक भिडियो बज्न सुरु गरेसँगै मञ्चमा उक्लेको नेपथ्यले लगातार दुइ घन्टासम्म ब्यान्डका नयाँ पुराना गीतहरु सुनाएको थियो।
धनगढीमा आयोजित प्रायः कार्यक्रमहरु हेर्दै आएका स्थानीय सञ्चारकर्मी नवराज धानुकका अनुसार नेपथ्यको मौलिक अनि लोकप्रिय गायन मात्र नभर्इ आधुनिक प्रस्तुतिका हिसाबले पनि कन्सर्ट विशेष थियो। ‘ध्वनि, प्रकाश, भिडियोको प्राविधिक संयोजन र प्रस्तुति असाध्यै उत्कृष्ट लाग्यो,’ धानुकले भने, ‘यो स्तरको कार्यक्रम सुदुरपश्चिममै पहिलोपटक भएको हो।’
धानुकले यत्तिको दर्शक पनि यसअघि जुटेको आफूलाई सम्झना नरहेको उल्लेख गरे।
‘हामीले काठमाडौं भित्र वा बाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एउटै स्तर प्रदान गर्दै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यसपटक पनि कलाकार र प्राविधिकको भ्रमणदल देखि लिएर अत्याधुनिक ‘साउन्ड सिस्टम’सहितको यात्रा चार वटै सहरमा सम्पन्न गरेका हौं।’
सुदूरपश्चिम कैलाली त्यही भूमि हो जहाँ कुनै समय मुलुककै नाम चलेका कवि तथा गीतकार कार्यरत रहँदा यो भेगको विरह माथि चर्चित सिर्जना तयार भएको थियो। त्यो कविताको लाइनले भन्थ्यो, ‘सूर्य पनि अस्ताउन मात्र आउँछ सुदुर पश्चिममा।’
‘अब यो भावना अन्त्य हुँदैछ,’ गायक अमृतले कन्सर्टकै क्रममा भने, ‘सिंगो मुलुक एकभएर जानुपर्छ र त्यसमा सुदुरपश्चिमले पनि हातेमालो गर्नेछ भन्ने विश्वास लिएको छु।’ अमृतले यस अवधि बीचमै पनि यो प्रदेश सम्वृद्धिउन्मुख भएको देख्दा खुसी लागेको बताए।
सुदुरपश्चिमसँग अथाह प्राकृतिक सुन्दरता रहेको र त्यसको पहिचान गरेर धेरै अगाडि बढ्न सक्ने सुझाव पनि उनले दिए।
कन्सर्टको अन्त्य ७३ वर्षअघि कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी गीत ‘रातो र चन्द्र सूर्य’बाट भएको थियो। राष्ट्रिय झन्डाको स्तुतिमा रचिएको यस गीतमा धनगढीवासीले उत्साहका साथ नाच्दै देशप्रतिको माया दर्शाएका थिए।
धनगढीमा कार्यक्रमको स्थानीय आयोजना भने ‘दाताज् इभेन्ट’ र ‘द मान्सन् नेपाल’ले संयुक्त रुपमा गरेको थियो।
ब्यान्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले यसरी देसभर कार्यक्रम आयोजना गरेको हो।