जसले दृष्टि गुमाए तर सृष्टी कमाए – अगरबत्तीको सुगन्ध छरिरहेका दृष्टिविहीन उद्यमी

– रविन्द्र घिमिरे

काठमाडौं । उनको आँखाले भौतिक दुनियाँ देख्दैन । तर, दुनियाँले उनलाई देख्छ, चिन्छ अनि सम्मान गर्छ । उनको आँट, संघर्ष र लगावले सबैलाई प्रेरित गर्छ ।

उनी हुन् नेपालमा स्थापित अगरबत्ती ब्राण्ड ‘अमरदीप’ का सञ्चालक उमेश थापा, जो अपांगता भएकाहरुका लागि प्रेरणाको सुगन्ध छरिरहेका छन् ।

उनीबाट विशेष अवस्थाका अपांगहरुले जीवन जीउने मात्रै हैन, जीवन सार्थक बनाउने कला पनि सिक्छन् ।

उमेरले ३२ वर्ष लागेका उनले २० वर्षको झर्झराउँदो युवावस्थामा आफ्नो दृष्टि गुमाएका थिए । आँखाले साथ दिउञ्जेल उनी कहिले भाँडा बोकेर ब्यापार गर्न हिमाली जिल्लाहरु पुग्थे त, कहिले जागिर गर्न काठमाडौं आइपुग्थे । १० वर्षको उमेरबाटै यो सिलिसिला चलेको थियो ।

जिन्दगी ठीकठाक चल्दै थियो तर, एउटा कालो दिन आयो । सीताइपालामा एउटा उद्योगमा काम गर्ने क्रममै छतबाट खसे उमेश । रंगीन संसार केही सेकेण्डमै अध्याँरियो । उज्यालो खोसेर जिन्दगीले उमेशलाई सानै उमेरमा झेली गर्‍यो ।

आँखाले साथ छाडेको पल उनले महसुस गरेका थिए, ‘जिन्दगी त सकियो ।’

घटना भएको १२ वर्ष बित्यो । उनको जिन्दगीमा खोला फर्कियो । अहिले उनको सोचाइ ठ्याक्कै उल्टो छ । भन्दैछन्, ‘त्यसपछि पो मेरो जिन्दगी सुरु भयो ।’

केही गर्छुभन्दा साथ दिने गरी परिवार उनीसँगै उभियो । अपांग तथा दृष्टिविहीनलाई सीप सिकाउने एउटा संस्थामा आवद्ध भए । सीप सिकेर आत्मनिर्भरताको बाटोमा हिँड्न चाहन्थे । ‘मैले त २० वर्षसम्म संसार देखेकै हुँ, मसँग त सबै कुराको महसुस छ तर, संस्थामा रहँदा मभन्दा पनि पीडितहरु देखेँ,’ उनी भन्छन्, ‘मैले चाहेँ भने त गर्न सकिहाल्छु नि भन्ने आँट पनि त्यसैकारण आयो ।’

सुरुमा सिप सिके पनि आत्मनिर्भर हुन सकेनन् उनी । त्यसपछि साथीहरुको साथ लिएर एउटा संस्था खोले ।

संस्थामा मैनबत्ती, अगरबत्ती, मुढा, मोबाइल, गिफ्ट आइटम, बनाउने लगायत धेरैथरि सिप सिकाइन्थ्यो । उनी त्यसमै रहेर काम गर्दै सिप पनि सिक्दै थिए । त्यही क्रममा उनले सोचे, ‘किन आफैं उद्यम चलाएर सिप सिकेकालाई अवसर नदिने ?’

त्यसपछि उनले अगरबत्ती उद्योग खोले र सोही उद्योगमार्फत ‘अमरदीप’ ब्राण्डको अगरबत्ती उत्पादन थाले ।

लोडसेडिङ चरम अवस्थामा पुगेका बेला उनले मैनबत्ती पनि बनाए । झोल साबुन, फिनेललगायत पनि उत्पादन थाले । मुख्य जोड भने अगरबत्तीमै बढी लगाए उमेशले ।

उनले आफ्ना उद्योगमा दृष्टिविहीन, अपांग र विशेष अवस्थाका महिलालाई मात्रै रोजगारी दिन्छन् । उनी सकेसम्म आफूजस्तै संघर्ष गरिरहेकाहरुलाई साथ दिन चाहन्छन् । उनीहरुलाई दुःख र अवहेलनाको संसारबाट बाहिर निकाल्न चाहन्छन् । ‘म साधारण अवस्थाका मान्छेलाई उद्योगमा काम लगाउँदिनँ, किनभने हामीले यो प्रोडक्ट अपांगहरुले नै उत्पादन गरेका हुन् भनेर ब्राण्डिङ गर्‍यौं,’ उनी भन्छन् ।

उद्यमसँगै मार्केटिङमा नयाँ आइडिया फुराए, दृष्टिविहीनलाई अधिकतम नाफा दिने गरी मार्केटिङ गर्ने । उनीहरुलाई बजारमा उत्पादन लिएर पठाउने र नाफा बाँड्ने ।

अहिले यही आइडियाबाट मार्केटिङ चल्दैछ । देशका विभिन्न शहरहरुमा दृष्टिविहीनहरु नै पुगेर ‘अमरदीप’ को बिक्री-वितरण गर्छन् । उमेशको कम्पनीमार्फत अहिले झण्डै डेढदेखि २ सय जनाले प्रत्यक्ष उत्पादन र मार्केटिङमा जोडिएर काम गर्दैछन् ।

दृष्टिविहीनहरुलाई पनि काम दिने योजनाअनुसार नै अधिकतम् मुनाफा रहने गरी उनले अगरबत्ती बेच्ने मार्केटिङ सञ्जाल बनाएका छन् । ‘केही काम नपाएर बस्नु भएकाहरुले पनि काम पाउनुभएको छ, उहाँहरुको सहयोगीका रुपमा हिँड्नेहरुले पनि राम्रो कमाउनुभएको छ,’ उनले भने, ‘नाफा बाँडिने भएकाले सबैलाई राम्रो भएको छ, यो कुराले मलाई ज्यादै खुसी लाग्छ ।’

कम्पनीमा आवद्ध भएर मार्केटिङ गर्नेहरुको छोराछोरीलाई पढाउन खुद नाफाबाट ‘बनोस’ पनि उपलब्ध गराउँछन् । उनी कम्पनीबाट मासिक २५ हजार तलब लिन्छन् ।

‘अमरदीप’को फ्याक्ट्री ललितपुर धोविघाटमा छ । भाडामा जग्गा लिएर हालिएको जस्ताको टहरोमा उनी आफैं खटिन्छन् । उमेशलाई उनकी जीवन संगिनीको पनि भरपुर साथ छ ।

‘हिजो पनि हामी राति १२ बजेसम्म काम गर्दैथियौं,’ उनी भन्छन्, ‘पत्नीको साथले नै यो सम्भव भइरहेको छ, म दिमाग चलाउँछु, उनले नै सबै भरथेग गर्छिन् ।’

तीन सन्तानका बाबु भइसकेका उमेशले सन्तानको शिक्षादीक्षामा कुनै कमी हुन दिएका छैनन् । यो १२ वर्षमा उनले उति ठूलो सम्पत्ति पनि जोडेका छैनन् । भन्छन्, ‘सम्पत्ति भनेको कर्म गर्दै जाँदा कमाइएला, शुभचिन्तक र शुभेच्छुक चाहिँ प्रशस्तै कमाएको छु ।’

१० वर्षअघि १० हजारको सामान ल्याएर सुरु गरेको उद्योग अहिले ६५ लाख मूल्य बराबरको भएको छ । उनले बैंकलाई तिर्न बाँकी ऋण १८ लाख हाराहारीमा छ । एउटा गाडी जोडेका छन्, जसमा उत्पादनहरु ओसारपसार गरिन्छ । उनको कम्पनीले वार्षिक रुपमा सरकारलाई कर तिर्छ । उनी ग्राहकलाई तौल तथा गुणस्तरमा ठग्नु र सरकारलाई तिर्नुपर्ने कर छल्नुलाई ‘अधर्म’ मान्छन् ।

उनले काम थाल्ने समयमा अपांगमार्फत उत्पादन भएका सामान बजारमा खासै हुँदैनथे । तर उनको उद्योगबाट सिकेर केहीले व्यवसायिक अभ्यास सुरु गरेका छन् । कति सफलताका लागि संघर्ष गर्दै छन् भने कति असफल पनि भए ।

‘हामीले गुणस्तरमा ध्यान दिन्छौं । नाफा मात्रै हेर्दैनौं,’ उनी भन्छन्, ‘धेरैले गुणस्तरहीन उत्पादन पनि अपांगको भन्दै बजार बिगार्दैछन् । हामीलाई यो चुनौति नै बनेको छ ।’

उनको कम्पनी ‘अमरदीप’ चर्चित बनेपछि मिल्दोजुल्दो नाम राखेर थुप्रै अगरबत्ती बजारमा आएका छन् । कतिपयले अपांगहरुलाई नै प्रयोग गरेर गुणस्तर कमजोर भएका अगरबत्ती बजारमा पठाएका छन् । यसमा उमेश दुःखी छन् । उनी भन्छन्, ‘हामीले दुईवटा बेच्दा गर्ने जति नाफा त्यस्ता उद्योगले एउटै बेचेर कमाउन थाले । तिनले गुणस्तर बिगार्दा मारमा हामी परिरहेका छौं ।’

यद्यपि उत्पादनलाई बजारको ठूलो समस्या छैन । पोखरा, चितवन र काठमाडौंमा अमरदीप अगरबत्ती को माग उच्च छ । ‘मेरो सामान थन्किएर बस्ने अवस्था छैन, म माग पुर्‍याएरै भ्याउँदिन,’ उनी सुनाउँछन्, ‘हिजो मेसिन बिगि्रयो, रातभरमा आफैंले मेसिन पनि बनाएँ । नत्र मागेको ठाउँमा दिनै सकिँदैन ।’

उनी अपांगहरुले उत्पादन गर्ने वस्तुको बजार सरकारले खोजिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । ‘अपांगहरुले बाँच्नका लागि सामान बोकेर कति हिँड्ने ?,’ उनी भन्छन्, ‘सरकारले यसबारे पनि सोचोस् । हाम्रो उत्पादनको बजारीकरणमा सघाओस् ।’

उनी आफ्ना अगरबत्तीले छर्ने सुगन्धलाई फैलाउन चाहन्छन् । अरुको जिन्दगीलाई त्यसले मनोरम बनाइदिओस् भन्ने चाहान्छन् । भन्छन्, आफ्ना कारण कसैको जिन्दगी मात्रै हैन, देशको अवस्था र व्यवस्था पनि सुधि्रयोस् न !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार