काठमाडौं : राजधानीको तीनकुनेमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ।
शनिबार दिउँसो काठमाडौंको तीनकुनेस्थित गौरीगाउँमा छुरा प्रहारबाट गम्भीर घाइते भएका मोरङ ऊर्लाबारीका बिकी लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो।
२७ वर्षीय लिम्बुको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले घट्नाकाे अनुसन्धान सुरु गरेकाे छ।
एसएसपी सुवेदी भने, ‘दोषीलाई पक्राउ गरी तत्काल कारबाही गर्न वृत्तलाई निर्देशन दिइसकेको छ।’ उनले दोषी पहिचान भइसकेको बताए । यद्यपी प्रहरी अनुसन्धान प्रक्रिया थप बाँकी रहेकाले सार्वजनिक नगरेको उनको भनाइ छ ।
अर्का घाइते अनिल श्रेष्ठको वीर अस्पतालमा उपचार भइराखेको छ। उनी भने खतरामुक्त छन्। प्रहरीका अनुसार छुरी प्रहार गर्नेको खोजीकार्य भइरहेको छ।
शनिबार दिउँसो १ बजेतिर दुई युवाले लखेट्दै ल्याएर छुरी प्रहार गरेको स्थानीयले बताएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ।