कार्तिक शुक्ल पूर्णिमा। नेपाल संवतअनुसार पहिलो पूर्णिमा। नेवार समुदाय शुक्रबार घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदै सकिमना पुन्ही मनाउँदैछ। सकि अर्थात् पिँडालु उसिनेर खाने पर्व। कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तन समापन गर्ने दिनको रूपमा यो दिनको महत्त्व छ। नसाः अर्थात् मकै, भटमास, गहुँ र धानको लावाले भगवानका आकृति बनाउने र त्यसैलाई प्रसादको रूपमा बाँडेर खाने चलन छ। यो दिन नेवार समुदायमा आ–आफ्नो टोल टोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवानको आकृति बनाइन्छ।
गहुँ बिछ्याएर धानको लावा र कालो भटमासले भगवानको स्वरुप बनाउने र चारैतिर भुटेको मकैले घेरा लगाइन्छ। त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको माला लगाएर दक्षिणा चढाइन्छ। अन्त्यमा दियो बालेर भजन किर्तन गाइन्छ। यो दिन प्रत्येक घरमा एक एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गएर पूजा गर्छन्। पूजामा मालपुवा, पुरी, नसा, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायणलाई चढाइन्छ। यसरी पूजा गर्दा प्रसादका रूपमा मन्दिरबाट नसाः लिएर आउने चलन छ। साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूध अर्घ्य दिई प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ। मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, मालपुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा छ।
ऋतुअनुसारको भोजन भगवानलाई प्रसादको रूपमा चढाएर मात्र खाने पर्वको रूपमा सकिमना पुन्हीलाई लिने गरिन्छ। पुन्हीको दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायण, लगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। वर्षभरका बाह्र महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रूपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खीर र नसाःलाई प्रसादको रुपमा भगवानलाई चढाउने संस्कृतिकर्मी बताउँछन्।
नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसाः लगायतका भोजन प्रसादको रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताए। यसले शरिरमा तागत दिनुका साथै शरिर स्वस्थ्थ हुने जनविश्वास रहेको उनको भनाइ छ। अन्नपातबाट बनाएको भगवानको आकृतिबाटै मठमन्दिर तथा भगवानको मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए।
पुरोहित राजोपाध्ययका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कन्दमूललाई सबै भन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए। त्यसपछि अन्नपात उब्जनी गर्न थाल्यो। त्यतीबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवानको मठमन्दिरको विकास भएको थिएन। ‘पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि बिस्तारै यसको विकसित रूप विभिन्न मठमन्दिरहरुको निर्माण हुन थाल्यो’, उनले भने, ‘त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवानको आकृति बनाएर त्यसलाई पूजा गरी कन्दमूललाई प्रसादका रूपमा चढाएर खाने प्रचलन थालेको हो।