ट्रकोमा रोग निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल, मन्त्रीले भने- ऐतिहासिक उपलब्धि

– सिर्जना खत्री

काठमाडौं – संसारमै अन्धोपनको प्रमुख कारणको रुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिणपूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ। विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो।

जनस्वास्थ्यको गम्भिर समस्याको रुपमा रहेको ट्रकोमा निवारण भएको खुसीयालीमा आयोजित शुभकामना आदनप्रदान समारोहमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यसलाई ऐतिहासिक उपलब्धी भएको बताएका छन्।

‘जनस्वास्थ्यको क्षेत्रमा हासिल गरेको यस ऐतिहासिक उपलब्धिमा हामी सबैको साथ, सहयोग तथा साझेदरीको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, ‘सार्वजनिक निजी साझेदरीको यो एउटा उत्कृष्ट उदाहरण हो। त्यसकारण मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अन्य क्षेत्र तथा अवसरहरुको बारेमा पनि अब योजना बनाएर अगाडि बढ्नुपर्छ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र साझेदारहरुलाई निवारण गर्ने भनिएका लिम्फटिक फिलारायसिस्, कालाज्वर, कुष्ठरोग जस्ता अन्य ट्रोपिकल रोगहरुलाई पनि समाधान गर्नको लागि यस किसिमको सार्वजनिक निजी साझेदारी गर्न आग्रह गरेका थिए।

यूएसएड मिसन निर्देशक एमी टोहिल स्टलले लगभग एक दशक पछि ट्रकोमा निवारणमा गरेको लगानीको प्रतिफल स्वरुप हासिल गरेको कोशेढुंगा प्रति गर्वान्वित महसुस भएको बताएकी छिन्।
विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालको सफलताबाट सिक्नुपर्ने बताएकी छन्।

उनले भनिन् ‘संसारमै अन्धोपनको प्रमुख कारणको रुपमा रहेको ट्रकोमा ोग निवारण गर्ने नेपाल दक्षिणपूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ, नेपालबाट सबैले सिक्नु पर्ने बेला आएको छ।’

ट्रकोमा रोग निवारण भएको उपलक्ष्यमा आज मन्त्रालयले साझेदारी संस्था तथा व्यक्तिलाई सम्मानसमेत गरेको छ । सो अवसरमा आँखा स्वास्थ्य सेवा कार्यमा योगदान दिने नेपाल नेत्र ज्योति संघ, रिसर्च ट्राइएङ्गल इन्स्टिच्युट, तिलगंगा इन्स्टिच्युट अफ आप्थाल्मोलोजी र अरु ९ जना विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सन् २०१८ को मे महिनामा विश्व स्वास्थ्य संङगठनले आधिकारिक रुपमै नेपाललाई जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा निवारण गर्ने देश घोषित गरेको थियो।

अब नेपालमा १ देखी ९ वर्ष उमेरका ५ प्रतिशत भन्दा कम बालबालिकाहरुमा मात्र सक्रिय ट्रकोमाका लक्षणहरु छन्। त्यस्तै १५ वर्ष भन्दा कम व्यक्तिहरुमा मात्र ट्रकोमाको विकसित रुप भेटिन्छ जसको उपचार गर्न आँखाको ढकनीको शल्यक्रिया गर्नुपर्छ र नेपालको स्वास्थ्य प्रणलीले यस रोगका नयाँ बिरामीहरुको पहिचान गर्न सक्छ।

के हो ट्रकोमा ?
ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने एउटा संङक्रमण आँखाको ढकनीमुनिको भागमा खस्रोपन ल्याउँछ। यस किसिमको खस्रोपनले आँखाको बाहिरी सतह टुक्रिने र अन्तमा अन्धोपन हुने गर्दछ।

ट्रकोमा संसारकै सबैभन्दा पुरानो संक्रमक रोगहरुमध्यको एक हो। यो रोग संसारभरिनै अन्धोपनको प्रमुख कारणको रुपमा रहेको छ।

यो रोग पानीको अभाव, सरसफाइको कमी र आँखामा बस्ने झिङ्गाहरुले सर्ने गर्दछ। यो धेरै भएको बाक्लो वस्तीमा बस्ने गरीब समुदायहरुमा बढी फैलिन्छ। यो रोगको ब्याक्टेरिया संङ्क्रमित व्यक्तिको आँखाको प्रत्यक्ष सम्पर्कबाट वा संङक्रमित व्यक्तिको आँखा वा नाकबाट निस्कने स्रावको सम्पर्कमा आएका हात, लुगा वा झिङ्गा जस्ता अप्रत्यक्ष माध्यमहरुबाट फैलन सक्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार