-रूपा शर्मा नेहा
जीवनका तीन पुरुष, जसलाई म चाहेर पनि बिर्सन सक्दिन । बिर्सन चाहन्न पनि । एउटी सामान्य महिलालाई चारतारे होटलसम्म पहुँच बनाइदिने ती पुरुष मेरो जीवनका त्यस्ता विषालु काँडा हुन् जसका सम्झनाहरू अझै पनि खिल बनेर घोचिरहन्छन् ।
म एक मध्यमवर्गीय परिवारमा जन्मिएकी शिक्षित बाबुआमाकी छोरी । हामी ३ जना छोरी छांै । छोरा नपाएको आरोपमा बुवाले कान्छी ल्याएर मेरी आमालाई हेला गर्न थाले । सधैजसो रक्सीले मातेर आउने बुवाले वर्षौं आमालाई कुटपिट गरेपछि उहाँ माइतीको आश्रयमा जान बाध्य हुनुभयो । म ३ वर्षकी हुँदा बुवा र आमा छुट्टिनुभयो ।
मेरी आमाले सानोतिनो जागिर गरेर हामी ३ दिदी–बहिनीलाई हुर्काउनुभयो । आमा हामी ३ जना छोरीलाई सँगै लिएर सुत्नुहुन्थ्यो तर मध्यरातमा उहाँको चित्कारले हामी बिउँझन्थ्यौं । भक्कानो छोड्दै आमा रुँदा हामी उहाँको अनुहार हेरेर आँसु बगाउने सिवाय केही गर्न सक्दैनथ्यौं । पीडा र रोदनबीच मेरो बाल्यकाल बित्दै गयो । मलाई बुवाको अभाव सधै खड्किन्थ्यो ।
म कक्षा ८ मा अध्ययनरत थिएँ । गाउँकै एक धनाढ्य परिवारको छोरो राजनसँग मेरो मित्रता बढ्न थाल्यो । ऊ र म एउटै कक्षामा पढ्थ्यौं । सँगै पढ्ने, सँगै खेल्ने अनि सँगै बसेर आफ्नो बाल्यकालदेखिको पीडा बिसाउने । ऊ मलाई तिमी सानै भए पनि बूढाबूढीका जस्ता कुरा गछर््यौ भन्थ्यो । हामी उमेरमा सानै भए पनि भविष्यका ठूल्ठूला सपनाका कुरा गथ्र्यौं । हामीले आफ्नो खुट्टामा उभिएर विवाह गर्ने योजनासमेत बनाएका थियौं ।
सानैदेखि बुवाको सामीप्यबाट टाढिएकी मलाई उसको मायाले नजिक बनाउँदै लग्यो । हामी एसएलसी उत्तीर्ण भयौं अनि आफ्नो सपना साकार बनाउन काठमाडौं आयांै । म मेरी फुपूकी छोरीसँग बस्थें, ऊ आफ्नो अंकलको छोरासँग । हामी गाउँका मान्छे, यद्यपि मलाई काठमाडौंको झिलिमिलीले भन्दा पनि राजनले बढी प्रभाव पार्दै गएको थियो ।
ऊ, म अनि मेरी फुपूकी छोरी सँगै घुम्न तथा फिल्म हेर्न जान्थ्यौं । एकदिन म साथीको घरमा बस्न गएकी थिएँ । एक्कासि घरबाट ट्युसन हिँडेकी बहिनी फर्केर आइनन् भन्ने खबर आयो । खोज्दै जाँदा राजनले नीतालाई भगाएको थाहा भयो । जीवनमा जसले मलाई सानै उमेरमा सँगै बाँच्ने र मर्ने कसम ख्वाएको थियो उसले आफ्नै बहिनी भगाएको कुराले म दुई दिन त बेहोसजस्तै भएँ ।
समय बित्दै गयो । लाग्थ्यो अब सधै अविवाहित नै बसूँ तर मैले आफ्नी आमाको खुसीका लागि विवाह गर्नैपर्यो । मैले विवाह गरें । आमाको रोजाइमै मेरो विवाह भयो । नेपाली समाजमा लोग्ने भनेका भगवान् हुन् । मेरा श्रीमान् मैले पुज्ने सबैभन्दा ठूला भगवान् थिए । म सधै उनलाई पुज्थें । मात्र एउटा स्वार्थ थियो मेरो–उनको माया । हामीबीच एकदमै राम्रो सम्बन्ध थियो । म सोच्थें एकपटक प्रेममा धोका खाँदैमा जीवन सकिने रहेनछ ।
श्रीमान्को माया पाएपछि मैले संसार जित्न थालेकी थिएँ । म पढाइ सकेर जागिर खान थालें । राम्रै तलब थियो । हरेक महिनाको तलब पाएको दिन म सरप्राइज गिफ्ट बोकेर घर जान्थें अनि आँखा चिम्लिन लगाएर निधारमा एक चुम्बन गरी गिफ्ट उनको हातमा राखिदिन्थें । हाम्रो सम्बन्ध देख्दा साथीहरू ईष्र्या गर्दै भन्थे–के हो, तँ त बूढाबिना एकपाइला हिँड्न पनि सक्दिनस् जस्तो छ ।
हाम्री छोरी जन्मिई । छोरी हुर्काउने क्रममा म छोरीसँग अलि बढी व्यस्त हुन थालें तर मैले उनलाई गर्ने प्रेम र सद्भाव अनि समर्पणमा कुनै कमी आएन । एकदिन अचानक मलाई काम विशेषले बाहिर निस्कनुपर्यो । म बाहिर गएर साँझ घर फर्किएँ । झ्यालढोका पूरै बन्द, ओहो आज उहाँ कति छिटो घर फर्कनुभएछ भन्दै ढोका ढकढक्याएँ तर ढोका खुलेन । सायद निदाउनुभएछ । घरको पछाडिबाट टकटक गर्नुपर्यो भन्दै पछाडि गएर पर्दाबाट चिहाएँ । म एक्कासि भुइँमा ढलें । कतिबेला कुन सुरमा कसरी कोठामा पुगें सम्झना छैन । मेरा श्रीमान्लाई मैले अर्कै कुनै केटीसँग देखें । जीवनमा दोस्रो पटक म फेरि मायामा हारें । मेरो पवित्र मायालाई कमजोरी मान्नेहरूले ममाथि विजय प्राप्त गर्दै गए । हो म विद्रोह गर्न सक्थें तर त्यतिबेला काखमा सानी छोरी थिइन् । छोरीमाथि पर्न सक्ने असरले गर्दा म सम्झौता गर्न विवश भएँ । मैले आफ्ना श्रीमान्लाई एकपटक मौका दिएँ किनभने मेराअगाडि सन्तानका लागि सम्मmौता गर्नुको विकल्प पनि थिएन । हरेक रात जब उनी मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । खुट्टाको पाइतलादेखि शरीरले छाड्दै गएको अनुभव गर्थें म । म मर्थें त्यो पलमा तर विद्रोह गर्दिनथें । छोरी हुर्कदै थिइन् । मेरा श्रीमान् छोरी ३ वर्षकी हुँदा विदेश जान तम्सिए मैले उनलाई रोक्न चाहिन किनभने उनीप्रतिको मेरो माया, त्याग अनि समर्पण शून्यमा झरिसकेको थियो । छोरीका लागि बाबु अनि आमा दुवै म थिएँ । बिदेसिएका श्रीमान्ले पनि हामीलाई कहिल्यै फर्केर हेरेनन् ।
मानिस दुई–चार छाक नखाएर बाँच्न सक्ला तर प्रेम–सद्भाव अनि एक्लोपनमा बाँच्न गाह्रो हुँदोरहेछ । यद्यपि यस्तो ठम्याइ मायामा हार्नेहरूको मात्र पनि हुनसक्छ । म मायाबिना एकदम अधूरो र अपूरो महसुस गर्थें । छोरी १० वर्षकी भई । अब म सोच्न थालें आखिर यसरी मेरो जीवन कहिलेसम्म चल्छ ? के मलाई मेरो जीवन आफ्नो तरिकाले बाँच्ने अधिकार छैन ? जसरी म आफ्ना बुवा, प्रेमी अनि श्रीमान्को मायाबाट वञ्चित भएँ के यो सहरमा कुनै त्यस्ता पुरुष छैनन् जो प्रेमिका वा श्रीमतीबाट पीडित हुन् ।
हो मैले त्यस्तै पुरुष फेला पारें । सामाजिक संजालमा फेला परेका ती पुरुषले पहिलो भेटमै आफ्नो पीडा साट्दा मैले जीवनमा आफूले खोजेजस्तै मान्छे भेटेको अनुभव गरें । हामी दिनहुँजसो सँगै कफी पिउँथ्यौं, सुख–दु:ख साटासाट गथ्र्यांै । ऊ सधै श्रीमतीले उसलाई होच्याउने–दबाउने दुुखेसो पोख्थ्यो । ऊ भन्थ्यो–म गाउँको केटा ऊ सहरमा हुर्के–बढेकी । सहरी मानसिकता र गाउँले जीवन कहिल्यै मेल खाएन सम्भवत: त्यसैले समयले मलाई तिमीसम्म पुर्यायो । ऊ थोरै बोल्थ्यो तर उसको बोलीमा व्यक्त हुने पीडा म आत्मसात् गर्न सक्थें । म कहिलेकाहीँ डराउँथे, तर्सन्थें, मेरो जीवनमा पूर्णविराम लागिसकेका दुई पुरुषजस्तै कतै तिमीले पनि मलाई प्रयोग मात्र त गरिरहेका छैनौ ? कतै श्रीमतीका नकारात्मक कुरा गरेर तिमीले मलाई फसाउने चारो फ्याँक्ने काम त गरेका होइनौ ? आँखाभरि आँसु पारेर बोल्दा ऊ मेरो आँसु पुछ्दै भन्थ्यो–तिम्रो कसम, मैले तिमीलाई कुनै कुरामा झूटो बोलेको छैन । ऊ भन्थ्यो–‘मेरी श्रीमतीसँग मेरो कहिल्यै दोहोरो संवाद हुँदैन । घर पस्दा यस्तो लाग्छ मानौं कुनै अपरिचित घरमा पस्दैछु । मेरो सारा सम्पत्ति उसको नाममा छ तर उसको मनमा मेरो नाम छैन ।’ त्यसो भन्दा मेरो मन भक्कानिन्थ्यो । लाग्थ्यो उसलाई सधैका लागि कतै टाढा लिएर जाऊँ जहाँ हामी दुईबीचको प्रेमलाई जीवन्त पार्न सकियोस् ।
म उसलाई असाध्यै माया गर्थें । ऊसँग बसुन्जेल म उसकै बयान गरेर समय बिताउँथे । म केवल मायाको कुरा गर्न रुचाउँथें । म हाम्रो मायालाई कसरी यो समाजको अगाडि आधिकारिकता प्रदान गर्ने भन्ने कुरा झिक्थें ऊ मेरो कुरामा मौन बसिदिन्थ्यो । कम बोल्ने उसको बानीले गर्दा कहिलेकाहीँ मलाई उसप्रति शंकासमेत लाग्थ्यो । होइन तिमी मेरो कुराको किन जवाफ दिँदैनौ ? हामी यो सम्बन्धलाई यसैगरी कहिलेसम्म धकेल्न सक्छौं ? ऊ फेरि पनि मौन बसिदिन्थ्यो ।
एकदिन एक्कासि उसको मोबाइलबाट मलाई फोन आयो मैले उठाएँ । उताबाट मेरो हेलोको जवाफ आएन । सायद फोन थिचिएछ । मैले उताको आवाज सुनें, फोन अन नै थियो । शनिबारको दिन बिहान ७ बजेको समय । सायद त्यो बेडमै गरिएको गफ थियो । ऊ अनि उसकी श्रीमती, माया–प्रेमका गफ साटासाट गरिरहेका थिए ।
झन्डै १० मिनेट फोन थिचिइरह्यो मैले उनीहरूको प्रेमालाप सुनिरहें । जसले आफ्नी श्रीमतीसँग दोहोरो संवाद हुँदैन भन्थ्यो उसको तिनै श्रीमतीसँगको त्यो गफलाई म शब्दमा उतार्न सक्दिन । त्यसबाट मलाई उसको वास्तविकता बुझ्न कुनै कठिनाइ भएन ।
म एक्लै चिच्याएँ, कराएँ, फेरि पनि मलाई त्यस्तै पुरुषसँग संगत गराएकोमा भगवान्लाई सराप्दै रोएँ । यद्यपि मेरो रोदन सुन्ने कोही भएनन् । फेसबुक खोलेर उसकी श्रीमतीको प्रोफाइलमा गएँ । मलाई भेटेर श्रीमतीको कुरा काटेकै बिहान कुनै मन्दिरमा गएर अंगालो हालेर खिचेको फोटो देखें । हरेक शनिबारजसो श्रीमतीलाई घुमाउन नयाँ–नयाँ ठाउँ गएको प्रमाण पनि त्यही फेसबुकमै देखें ।
जीवनमा आफूभन्दा बढी विश्वास गरेका यी तीन पुरुषको संगतबाट मैले एउटा कुरा बुझें–‘पुरुषको प्रेम आत्मासँग होइन शरीरसँग हुँदो रहेछ ।’