बज्रपातले विक्षिप्त प्रचण्डको आजको पूर्णपाठ

काठमाडौं । नेपथ्यमा बजिरहेको श्रव्यमा सुनिँदै थियो, … बच्चा हुँदा प्रकाश साइकल भनेपछि हुरुक्कै हुन्थे, तर उनलाई साइकल किनेर दिने आर्थिक हैसियत प्रचण्ड परिवारको थिएन । उनी जसको साइकल देख्यो, पछि–पछि दौडिन्थे र घरमा आएर मलाई पनि साइकल चाहियो भन्थे… ।

प्रचण्डपत्नी सीता दाहाल जुरुक्क उठ्न खोजिन् । चस्माभित्र आँखामा आँशु रोक्न नसकिरहेका प्रचण्डले सीतालाई समातेर राख्न खोजे । प्रकाशको स्मरणमा तयार पारिएको श्रव्य सामाग्री बजिरहेकै थियो । सीता घरी उठेर हिँड्न खोज्थिन्, घरी भक्कानो छाडेर रुन । घरी कार्यक्रम सञ्चालक जोखवहादुर महरालाई श्रव्य सामाग्री बन्द गर्न संकेत गर्थिन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा सोमवार बिहान देखिएको दृश्य हो यो । प्रकाश दाहालको श्रद्धाञ्जली कार्यक्रम सकिएर दुई छोरी र अन्य सहयोगीको सहारामा बाहिरिँदै गर्दा विह्वल आमा सीता दाहाल भन्दै थिइन्– ‘भो नबजाऊ त्यो, मेरो बाबु अब छैन मसँग ।’

बज्रपातले विक्षिप्त

निर्धारित समयभन्दा करीव एकघण्टा ढिलो कार्यक्रमस्थलमा आउँदा नै सीता दाहाल सामान्य अवस्थामा थिइनन् । प्रचण्डनिवाससँगै जोडिएको खाली जग्गामा छोरा प्रकाश दाहालको पहिलो वार्षिकीको कार्यक्रम थियो । उनलाई कार्यक्रमस्थलमा ल्याउन दुई छोरी रेणु र गंगाका साथै बुहारी बिना मगरलाई हम्मे परेको थियो । मुस्किलले सम्हालेर मञ्चमा पति प्रचण्डको देब्रेतर्फको सोफामा राख्ने बेला पनि उनलाई दुईतिरबाट थाम्नु परेको थियो ।

दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड
लामो समयदेखि अनौठो प्रकारको रोगबाट पीडित सीताले यसबीचमा लगातार सन्तान वियोग झेल्नुपर्‍यो । जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको २ वर्ष नपुग्दै एकमात्र छोरा प्रकाशलाई पनि अन्तिम विदाई गर्नु परेपछि सीता सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । पोहोर मंसिर २ गते हृदयाघात भएर छोरा प्रकाश बितेका थिए ।

सीताको उपचार र मानसिक ढाडसका लागि प्रचण्ड कहिले सिंगापुर पुग्छन् त कहिले म्याग्दीको सिंगास्थित तातोपानी कुण्ड । गृहजिल्ला चितवन जाँदा पनि सीतालाई सँगै लिएर यसकारण जान्छन् कि पुत्र वियोगपछि उनी अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन् ।

सोमबार करीव एक घण्टाको कार्यक्रममा पत्नीलाई सम्हाल्न प्रचण्डलाई परेको हम्मेले दाहाल परिवार कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ । अनेक कमजोरी र विवादबाट गुज्रिएर परिपक्व भएका प्रकाश परिवारमात्र होइन, प्रचण्डको सचिवालय र सिंगो पार्टी पंक्तिको रेखदेख गर्न थालेका बेला अकस्मात बिते ।

उनी नहुनुको पीडा पार्टी पंक्ति र परिवारसँगै बाबुआमालाई बढी महसुस हुनु स्वाभाविकै हो । प्रचण्डले आफ्नो परिवारको हालत प्रकाशको पहिलो वार्षिकीमा लुकाएनन् पनि । सीतालाई सम्हाल्न खोज्दा घरीघरी प्रचण्ड आफैं ‘घुँक्क घुक्क’ गरिरहेका हुन्थे । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले प्रकाशका बारेमा बोलिरहँदा प्रचण्ड रोइरहे ।

दुई सन्तान अल्पायुमै गुमाइसकेका प्रचण्डले आफ्नो परिवारलाई उनकै भाषामा ‘विघटन’ हुन नदिन घरको अभिभावकको हिसाबले हदै प्रयास गरेका छन्
प्रचण्डको पीडा

छोराको स्मृतिमा आयोजित कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड पटक–पटक रोए, बोल्दाबोल्दै भक्कानिए ।

मान्छेलाई सन्तान वियोगजस्तो ठूलो पीडा अरु कुनै हुँदैन भनिन्छ । विस्तारै परिपक्व हुँदै र आफ्नो भरोसा बन्दै गरेको छोरो गुमाउनुको पीडा प्रचण्डले देशका विशिष्ठ मान्छेका अगाडि लुकाउन सकेनन् ।

प्रचण्डले जनमानसलाई भने, ‘हिजो त्यो शोकका बेलामा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने संकटको क्षणमा पनि तपाईहरुले साथ दिनुभयो । आज पनि हामी देशलाई योगदान दिने विशिष्ठ व्यक्तिहरु र आम जनताको उर्जाकै कारण मात्र बाँचिरहेका छौं । यो किसिमको सद्भाव, विश्वास र प्रेरणा हुँदैनथ्यो भने हाम्रो परिवार बिघटन भइसक्ने थियो ।’

प्रचण्डले यसो भनिरहँदा मञ्चको पछिल्लो लहरमा छोरीहरुका बीचमा बसेकी सीता ढल्न खोजिन् । प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा आएपछि उनलाई छोरीहरुसँग पठाइएको थियो । देउवाले प्रचण्डलाई आफ्नै शैलीमा पटक–पटक सान्तवना दिन खोजे ।

सबैको साथ

राजनीतिकरुपमा नदीको अर्को किनारा भइसकेका मोहन वैद्य पनि सोमबार बिहान प्रचण्ड परिवारलाई सान्त्वना दिन खुमलटार आए । उनले प्रकाशलाई आफूले अबोध बालकदेखि परिपक्व युवा अवस्थासम्म धेरैपटक अभिभावकत्व दिएको स्मरण गरे ।

उपराष्ट्रपति नन्दबहादुर पुनसहित राष्ट्रिय जीवनका हर क्षेत्रका व्यक्ति उपस्थित प्रकाशको पहिलो स्मृतिसभामा दाहाल दम्पत्ति भने ‘सबैथोक गुमाएको’ अवस्थामा देखिन्थे ।

विदेश भ्रमणमा रहेका माधवकुमार नेपाल बाहेक प्रचण्ड परिवारलाई सान्त्वन दिन सबै भूतपूर्व प्रधानमन्त्रीहरु खुमलटार पुगेका थिए । मधेस केन्द्रित दलका नेताहरुको पनि बाक्लो उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले प्रकाश दाहालको निधन भएको दिन प्रचण्डलाई परिवार सम्हाल्न काठमाडौं पठाएर आफू वाम गठबन्धन सम्हाल्न झापामा बसेको स्मरण गर्दा प्रचण्ड फेरि भक्कानिए ।

ओलीले ‘कठिन क्षणमा पनि सम्हालिएर अघि बढ्ने प्रचण्ड परिवारको क्षमताको प्रशंसा गर्छु’ भन्दै ढाडस दिए । उनले त्यसो भनिरहँदा सीतालाई सम्हालिन कठिन भइरहेको थियो ।

प्रचण्ड परिवारले प्रकाशको निधनका बेला धित मरुन्जेल रुन पनि पाएन । देश चुनावको चटारोमा थियो । वाम गठबन्धनका एउटा कमाण्डर रहेका प्रचण्ड आफैं देश दौडाहामा जानु थियो । प्रकाशको भौतिक शरीर चितामा खरानी बनेसँगै प्रचण्ड परिवार निर्वाचन अभियानका लागि चितवन पुगेको थियो । सिंगो परिवार पार्टीकरण गरेका प्रचण्ड पुत्र वियोगको पीडालाई कृत्रिम हाँसोले लुकाउन बाध्य थिए ।

आमाको मन

आफ्ना सन्तानका सातखत माफ गर्न तयार हुन्छन्, आमाहरु । सीता दाहाल जनयुद्धका कमाण्डर प्रचण्डकी पत्नीभन्दा प्रकाश दाहालकी आमा बढी थिइन् । छोराका मानवीय कमजोरीमा बाबु कठोर भएर कारवाही गर्दा पनि आमा रक्षाकबचन बन्थिन् ।

यस्ता धेरै दृश्य देखेका प्रचण्डका निकट सहयोगीहरु सीता दाहालका लागि प्रकाश के थिए भन्ने अनुभव सुनाउँछन् । राति खाना खुवाएर सुत्न पठाएको छोरा बिहान मृत अवस्थामा फेला पर्नु आमाको जीवनमा सबभन्दा ठूलो बज्रपात थियो । त्यो चोट सम्भवतः अब कहिल्यै निको हुने छैन ।

पुत्रवियोगपछि उनलाई परिवारका कुनै नै कुनै सदश्यले साथ दिइरहेका हुन्छन् । कमजोर बन्दै गएकी उनको छेउमा प्रचण्ड नभए भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु वा कान्छी छोरी गंगा हुन्छन् । मन्त्री रहेकी बुहारी बिना मगर पनि सासूको रेखदेखमा खटिएकै हुन्छिन् ।

प्रकाशका निकट मित्रमध्येका एक दीपेश (उपराष्ट्रपति नन्दवहादुर पुनका छोरा) को अनुभवमा छोराको अकल्पनीय निधनको गहिरो असर ‘सीता आमा’लाई परेको छ । दिपेशको बुझाइ र सीता दाहालको अवस्था मेल खान्छ । दिपेशका अनुसार, प्रकाशको न्यास्रो मेट्न प्रचण्डले दुई नातिलाई आफूसँगै राखेका छन् । उनी फुर्सदमा नातिहरुसँग बच्चा जस्तै खेल्दै सीतालाई सामान्य बनाउन खोज्छन् ।

प्रचण्डलाई दुःखाउने टिप्पणी

उनलाई एक्लोपना नहोस भनेरै प्रचण्डका सबै छोरी र नाति नातिनाहरुलाई पनि अधिकांश समय खुमलटार निवासमै राख्ने गरिएको छ । दुई सन्तान अल्पायुमै गुमाइसकेका प्रचण्डले आफ्नो परिवारलाई उनकै भाषामा ‘विघटन’ हुन नदिन घरको अभिभावकको हिसाबले हदै प्रयास गरेका छन् ।

पत्नीको उपचारमा देश–बिदेश गर्दा हुने टिप्पणीले प्रचण्डलाई असाध्यै पीडा दिने गरेको उनका सहयोगीहरु बताउँछन् । सिंगापुरदेखि सिंगाको तातोपानीसम्म जाँदा खेप्नुपरेको टिप्पणीहरुले उनलाई आहत बनाएको छ । र पनि उनी हरक्षण पत्नीलाई सम्हालिरहेका छन् । नजिकबाट बुझ्नेहरु प्रचण्डलाई आदर्श पति र कठोर पिता भन्छन् ।

कठोर यसकारण कि उनले छोराछोरीलाई पढाउने भन्दा आफूसँगै जनयुद्धमा भूमिगत गराए । जनताका छोराछोरीलाई मात्र बन्दुक बोकाएको आरोप लाग्न नदिन उनले प्रकाशलाई आफ्नै सचिवालयमा राखेर एके–४७ भिराएको दिपेश बताउँछन् । दिपेश र प्रकाश जनयुद्धमा सँगै लडेका थिए ।

पत्रकार दीर्घामा सिर्जनाको सुँक्क सुँक्क !

प्रचण्ड परिवारमा प्रकाशको न्यास्रो मेटाउने भनेका उनका दुई छोरा प्रसिद्ध र प्रणव छन् । सोमबार प्रकाशको पहिलो वार्षिकीमा आयोजित कार्यक्रममा पुगेकी प्रसिद्धका आमा सिर्जना त्रिपाठी छोरालाई एकपटक भेटेर जान्छु भन्दै थिइन् । उनले आफ्नो भन्दा प्रचण्डको खुसी ठूलो भन्दै प्रचण्डले असाध्यै माया गर्ने प्रसिद्धलाई प्रचण्ड निवासमै छाडेकी रहिछन् ।

छोरा प्रकाशको स्मरण गर्दै मञ्चबाट प्रचण्ड भक्कानिँदा सिर्जना पत्रकार दीर्घामा बसेर रोइरहेकी थिइन् । कार्यक्रमको शुरुमा मञ्चमै लगिएका सिर्जना केहीबेरमै त्यहाँबाट बाहिर आएर पत्रकार दीर्घामा बसेका थिइन् । कार्यक्रमपछि प्रकाशको तस्वीरमा फूल चढाएर आँशु रोक्न खोज्दै उनी प्रचण्ड निवासभित्र छोरो खोज्न पसिन् ।

र अन्तमा, प्रचण्ड आफैंमा एउटा कठोर नाम हो । व्यवहारमा भने उनी लचिलो नेता, भावुक पिता र उदार अभिभावक हुन् भन्छन्, नजिकबाट बुझ्नेहरु । कुनैबेला युद्धमा सयौं योद्धाहरु मारिँदा प्रचण्ड भन्थे– ‘हामी हाँस्दा–हाँस्दै रोइरहेका हुन्छौं, रुँदारुँदै हाँसिरहेका हुन्छौं ।’

सन्तान वियोगले प्रचण्डलाई पटक–पटक रुवाउँछ । तर, पत्नी सीतालाई सम्हाल्न र दुनियाँलाई देखाउनकै लागि उनी शोकमा पनि हाँस्न खोजिरहेका हुन्छन् । सायद उनी हाँस्दा हाँस्दै रोइरहेका छन् । आखिर केही गर्ने बेलाको छोरो गुमाउँदा कुनचाहिँ बुबा नरोई बस्न सक्छन् र ?

सामाजिक सञ्जालमा विचारणीय प्रश्न

प्रचण्ड निवासमा प्रकाश दाहालको श्रद्धाञ्जली सभाबारे मिडियामा समाचार र तस्वीरहरु आइरहेका बेला सोमबार दिनभर सामाजिक सञ्जालमा चाहिँ प्रचण्ड परिवारलाई सहानुभूति दिने र गाली गर्नेहरु बराबरजसो देखिए ।

अनलाइनहरुमा छापिएका समाचारमा पनि गाली र सहानुभूति छासमिस नै देखिए । जनयुद्धमा आफन्त गुमाएकाहरुले सहानुभूतिको साटो गाली गरेको देखियो ।

सम्हालिन्न आमाको मन ….
चिनियाँ नेता माओत्सेतुङका छोरा कोरियाको युद्धमा मारिएका थिए । माओकी श्रीमती पनि चीनको जनयुद्धमा मारिएकी थिइन् । त्यो घटनालाई माओले आम चिनियाँ नागरिकको शाहदातसँग जोडेर हेरे । आफ्नो परिवारजनको त्यागलाई मात्रै उनले महत्व दिएनन् । हाम्रा नेताहरुले पनि परिवारको त्यागलाई जनतासँगै जोडेर हेर्ने प्रगतिशील संस्कार देखाउने हो भने जनताबाट गुनासा र आलोचनाहरु कम आउने थिए कि ?

प्रचण्ड परिवारले छोराको वार्षिकी गरिरहँदा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री समेतको उपस्थितिमा खर्चालु कार्यक्रम नगरेर सन्देशमूलक कार्यक्रम गरेको भए उदाहरणीय बन्न सक्थ्यो ।

आजको दिन कुनै जनयुद्धका टुहुरा सन्तानलाई सानो राहतको घोषणा गर्न सकिन्थ्यो, खुमलटारमा आयोजना गरिएको जलपानको साटो ।

अर्कोतर्फ सामाजिक सञ्जालमा पनि मानिसको मृत्युप्रति सहानुभूति जनाउने संस्कारको विकास गर्न सके हाम्रो समाज संवेदनाहीन हुनबाट जोगिने थियो कि ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार