-शिव मुखिया
२०७५ विराटनगर । फलामको होचो गेटबाट कुप्रिदै भित्र पसेपछि अग्ला पर्खालले चारैतिरबाट घेर्छन् । यही घेराबन्दीभित्र छन्, साढे सात सयभन्दा बढी कैदी-बन्दी ।
क्षमताभन्दा चारगुणा बढी कैदीको चाप र त्यसमाथि सूर्यदेवको प्रचण्ड ताप । विराटनगरस्थित मोरङ कारागार निसास्सिएको प्रतित हुन्थ्यो । यही उखरमाउलो वातावरणका बीच केही बेग्लै खालको चहलपहल पनि हुँदै थियो ।
अगाडि चर्तुभूजाकार स्टेज । सम्मुखमा खचाखच कैदीबन्दीहरु विभिन्न मुद्रामा । कोही टुक्रुक्क बसेर हातले टाउको अड्याइरहेका, कोही अलमस्त पलेंटी मारेर ध्यान मुद्रामा बसेजस्ता, कोही ठिङ्ग उभिएका । अनेक रुप र रंगका अनुहारहरुको कोलाज ।
कार्यक्रम सुरु हुन्छ । आरम्भमा, जीवन-संगीतको धुनले वातावरणमा मिठो तरंग फैलियो । निराशा, आत्माग्लानी र प्रतिशोधको भावना नामेट गर्दै उत्साह, उर्जा र सकारात्मक भाव जगाउने धुनमा कैदीहरु समाहित भए ।
त्यसपछि स्टेजमा प्रकट भयो, सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागे, मनोज गजुरेल, टंक आचार्यलगायतको समूह । भनेपछि, केही रमाइलो हुनेवाला छ । कैदीहरु गड्गडाहट तालीले उनीहरुलाई स्वागत गर्छन् ।
विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका कैदीहरुबीच मनोरञ्जनको चंगा उडाएर सकारात्मक उर्जा प्रवाह गर्ने ध्येय सिस्नुपानी नेपालको । ब्यानरमा लेखिएको छ, ‘कारागारमा हास्यव्यंग्य शिविर ।’
अंग्रेजीमा समाचार
दर्शकदीर्घामा पनि केही यस्ता प्रतिभा भेटिए, जसले यस कारागारलाई गुलजार बनाउँदै आएका छन् । कविदेखि गायक र नर्तकदेखि कमेडियनसम्म । त्यहाँ एउटा सांगीतिक व्यान्ड रहेछ, साहित्यिक समाज रहेछ, डान्स समूह रहेछ । साँझ-विहान अभ्यास गर्दा रहेछन् । बेलाबखत आ-आफ्नो प्रस्तुति पस्कने रहेछन् ।
उद्घोषकले सोधें, ‘तपाईंहरुमध्ये कोही स्टेजमा आएर आफ्नो प्रतिभा देखाउनुहुन्छ ?’
भीडबाट एउटा नाम लिएर हुटिङ सुरु भयो । तुरुन्तै स्टेजमा देखापरे एक वृद्ध । औसतभन्दा होचो कदका । छरितो र फूर्तिलो ज्यानका । ढाका टोपी, गोलाकार चश्मा लगाएका । नाम किशोर तिमिल्सना ।
बुढाले माइक्रोफोन समाए र भने, ‘म समाचार सुनाउँछु, एउटा अंग्रेजी र एउटा नेपालीमा । अंग्रेजी समाचार, रेडियो बम ब्लास्टिङ । नेपालीमा, आकाशवाणी वैकुण्ठका समाचार ।’
उनलाई समाचार सुनाउनका लागि कुनै कागजको चिर्कटो चाहिन्न रहेछ । अंग्रेजी समाचार सुरु गर्नासाथ दर्शक त वेपत्तासँग हाँस्न थाले । दर्शकमात्र होइन, मञ्च रहेका कलाकर्मीले पनि हाँसो थाम्न सकेनन् ।
चौकीदारको ठाँट
अग्ला पर्खालभित्र अर्कै संसार छ । अनेकन मनोवृत्ति र मनोदशाका बोकेका सयौंथरी मान्छेहरु आत्मीय सम्बन्धमा बाँधिएका । न कसैले कसैलाई हेप्ने, न दबाउने, न थर्काउने । भिडमा बसिरहेका एक बृद्ध खोक्दै उठे । हत्तपत्त एक कैदी उनलाई सम्हाल्न पुगे । बडो स्नेहपूर्वक कोठासम्म पुर्याइदिए ।
‘यहाँभित्र कोही साना, कोही ठूला, कोही धनी, कोही गरिब हुँदैनन्,’ कारागारका चौकिदार नविन राईले सुनाए, ‘सबैलाई उत्तिकै सम्मान र प्रेमपूर्ण व्यवहार हुन्छ ।’
चौकीदार भनेका कैदीहरुका मूल नेता । आफ्नो समूहलाई कन्ट्रोलमा राख्ने मात्र होइन, उनीहरुको आवश्यकता र समस्या हल गर्ने जिम्मेवारी पनि काँधमा लिएका । उनको ठाँट भने हेर्नलायक देखिन्थ्यो । उनी जता जाँदा पनि, अघिपछि चार जना असिस्टेन्ट हुन्थे । उनले कारागारभित्रै रचनात्मक कार्यक्रम गर्ने, सीपमूलक तालिमहरु दिलाउने, फूलबारीदेखि पुस्तकालयसम्म बनाउने काम गर्दा रहेछन् ।
हामीसँगको कुराकानीपछि उनी फोटो खिच्नका लागि तयार भए । उनी भित्तामा उभिए, चाणक्यलाई पृष्ठभूमीमा पारेर । भित्तामा लेखिएको थियो, ‘सफलता प्राप्त गर्नका लागि राम्रो साथीको आवश्यक्ता पर्दछ । अझ ठूलो सफलता हासिल गर्नका लागि राम्रो सत्रुको आवश्यकता पर्दछ ।’
कारागार कुन कस्ता ?
कैदी-बन्दीको जीवन नियाल्न हामी पूर्वी तराईका अरु कारागारभित्र पनि पस्यौं । भित्रको माहौल सोचेभन्दा फरक थियो । कोही पनि टोलाएर, विरक्तिएर बसेका देखिएनन् । बरु उत्साही थिए । सीप सिकिरहेका थिए, कला साधना गरिरहेका थिए, रचनात्मक कार्यमा आफूलाई समाहित गराइरहेका थिए ।
सबैभन्दा घतलाग्दो त, उनीहरुमा स्वयम्सेवाको भावना देखिन्थ्यो । कार्यक्रमका लागि स्टेज बनाउने, सजाउने, चिया-पानीको व्यवस्था गर्ने सबै काममा उनीहरु स्वतस्फुर्त खटिएका थिए ।
मोरङ कारागार संरचनात्मक दृष्टिले अलि जीर्ण पाइयो । साँघुरो पनि । पुरुष कैदी सात सयभन्दा बढी । महिला ७० को हाराहारीमा । त्यहाँ धेरैजसो अधवैंशे र बुढापाका थिए ।
झापाको चन्द्रगढी कारागार भने निकै फराकिलो थियो । त्यहाँ प्रवेश गर्दा हस्तशिल्प उत्पादन गर्ने कारखाना जस्तै लाग्ने । अगाडि पुस्तकालय र त्यसभन्दा अगाडि फराकिलो मैदान । त्यही मैदानमा विभिन्न कार्यक्रम गरिने रहेछ । उक्त कारागारमा धेरैजसो तन्नेरी थिए । टिपटप देखिने । अलि टाठा-बाठा र सिर्जनशील पनि । कोही गायक थिए, कोही नर्तक थिए, कोही कवि थिए ।
तेस्रो नम्बरमा हामी झुम्का कारागारमा पुग्यौं । यो पूर्वाञ्चलकै सर्वाधिक कैदीबन्दी रहेको कारागार । दुई ठाउँमा विभाजन गरेर कैदीहरु राखिएका थिए । एकातिरको कमान्ड प्रेम लावतीले सम्हालेका थिए । अर्कोतिरको खड्ग राईले ।
झुम्का कारागार वर्णन गर्न लायक थियो । भीडभाड भए पनि एकदमै व्यवस्थित । भित्र पस्ने दायाँतर्फ चमेना गृह थियो, बायाँतर्फ किराना पसल । त्यहाँ स-साना भवन रहेछन् । कुनै होस्टल झै आकर्षक र सफासुग्घर । पानी, शौचालय सबैको राम्रो व्यवस्था रहेछ । खेल्ने, टिभी हेर्ने ठाउँ पनि व्यवस्थित ।
अर्को ब्लक पनि लोभलाग्दो थियो । त्यहाँ धेरैजसो युवाहरु रहेछन् । सुकिलामुकिला । र, कुनै न कुनै कलामा पोख्त । उनीहरुले गीत सुनाए, सांस्कृतिक तथा आधुनिक नृत्य देखाए ।
लामो समय जेल जीवन विताइरहेकादेखि भर्खरै जेल प्रवेश गरेकाहरुसँग हामीले औनपचारिक कुराकानी गर्यौं । कोही लागु औषध दुव्र्यसनमा, कोही ज्यान मुद्दामा, कोही जबरजस्ती करणीमा, कोही बहु विवाहमा परेका । उनीहरुले कारागारभित्र फरक समाजको निर्माण गरेका छन् । अर्को घतलाग्दो कुरा त, उनीहरु विभिन्न धर्म, सम्प्रदायका भएपनि सबैको चाड, पर्व मिलीजुली मनाउने रहेछन् ।
हामीले उनीहरुसँग अनौपचारिक रुपमा सोध्यौं, ‘यहाँबाट निस्केपछि के गर्नुहुन्छ ?’
अधिकांशको जवाफ आदर्शवादी थियो, ‘दुष्कर्मको फल पाइयो । जीवनको महत्व बुझियो । बाहिर निस्केपछि देश र समाजका लागि केही राम्रो काम गर्ने ।’
सिस्नुपानी नेपालको अभियान
विभिन्न अपराध गरेर बन्दी जीवन बिताइरहेकाहरु जब आफ्नो सजाय भुक्तान गरेर घर फर्कन्छन्, उनीहरुलाई समाजले कसरी ग्रहण गर्छ ? यो एउटा गम्भीर प्रश्न हो । र, यही प्रश्नको खोजीले सिस्नुपानी नेपाललाई कारागारहरुमा प्रवेश गराएको हो ।
कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहँदा उनीहरुले त्यहाँभित्र सकारात्मक उर्जाको खोजी गरुन्, समाजमा फर्केर नयाँ जीवनको प्रारम्भ गरुन् भन्ने उद्देश्यले सिस्नुपानी नेपाल देशभरका कारागारमा हास्यव्यङ्ग्य शिविर सञ्चालन गर्दै हिँडेको छ । नेपालमा जम्मा ७४ वटा कारागार छन् जसमा १८ हजारभन्दा बढी कैदी छन् ।