काठमाडौं । जुम्लाबाट आमरण अनसनमा बस्न लागेका डा. गोविन्द केसीलाई पक्राउ गरिएको छ । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आएका केसीले पक्राउ परिसकेपछि अब हिरासतमै भए पनि अनसन बस्ने अडान लिएका छन् ।
आज दिउँसो २ बजेदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने उनको तयारी थियो । तर प्रहरीले डा.केसीलाई अस्पताल परिसरमा प्रवेश गर्न पनि रोक लगाएको थियो ।
डिएसपी डा तपन दाहालका अनुसार अनसन बस्न नदिएपछि डा. केसी प्रहरी कार्यालयमै जान्छु भनेपछि ल्याइएको हो । डिएसपी दाहालका अनुसार अहिले डा. कसी कार्यालयको प्रतीक्षालयमै छन् ।
डा. केसीलाई करिब ३ सयभन्दा बढी स्थानीयले उनलाई साथ दिएका थिए । हिजो स्थानीय प्रशासनले प्रतिष्ठान वरिपरि निषेधित क्षेत्र घोषणा गरेपछि स्थानीयको साथमा उनी जिल्ला प्रशासन कार्यालय घेराउमा थिए ।