काठमाडौँ — मानव बेचबिखनविरुद्धको सङ्घर्षमा लागेबापत सुनीता दनुवारले ‘हिरो अवार्ड’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।
नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई अमेरिकी सरकारले सम्मान गरेको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उनी क्रियाशील छिन् ।
मानव बेचबिखनविरुद्ध सक्रियशक्तिसमूहले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको सङ्घर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गरेको अमेरिकी दूतावासले जनाएको छ ।
उक्त अवसरमा विदेशमन्त्री पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गरेका थिए । प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्घर्ष गर्न विश्वभरका सरकारहरूले गरेका प्रयत्नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।