प्रधानमन्त्री केपी अाेलीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको स्पष्ट गर्नुभयो । आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा थियो ।
भानुजयन्तीका अवसरमा यही असार २९–३१ गते नेपालमा नेपाल, भारत र डायस्पोराका स्रष्टाहरु सम्मिलित ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन’ हुन लागेको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा हुने कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक मूल्यलाई स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवाद निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाली जनताका सपना पूरा भएनन् । समाजवादको आधार तयार भएन भने त्यसबाट नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खान्छ । देश नै बर्बाद हुन्छ । सरकारले हरहालतमा पनि जनतालाई सेवा दिनुपर्छ ।
सबै प्रकारको विभेदको अन्त्य गरेर २१औँ शताब्दीअनुकूल समाजवाद स्थापनाका लागि नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै वर्ग, क्षेत्र तहलाई समान अधिकारका साथ आर्थिक रुपमा सम्पन्न बनाउन सके मात्रै समाजवाद प्राप्त गर्न सकिने बताउनुभयो । सामाजिक न्याय, विभेदको अन्त्य, गरिबी उन्मूलनमा विशेष जोड दिन सबैको साथ र सहयोग रहनुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले धेरै पछि बलियो सरकार बनेकाले राम्रा काममा सबैले साथ दिनुपर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “सरकारले पनि सबैलाई साथमा लिएर उनीहरुको विचारको समेत सम्मान गर्दै एकता, सहकार्यको मार्गमा अगाडि बढ्नुपर्छ । त्यसो भए नेपाली जनताले खोजेको समृद्धि प्राप्त हुन सक्छ ।”