प्रेम सुनार,
गुल्मी । आज भन्दा १५ वर्ष अघि गुल्मीको दोहलीमा स्थानीय एक पुरुषसँग शारीरिक सम्बन्ध राखेपछि जन्मिएको सन्तानसहित उनकी आमा अहिलेसम्म अलपत्र परेका छन् ।
२०५८ साल असार ७ गते हालको ईस्मा गाउँपालिका, साविकको दोहली गाविस वडा नम्बर ७ की कमला बस्नेत (नाम परिवर्तन) लाई साविकको वडा नम्वर ८ का यमबहादुर खत्रीले प्रेम विवाह गरेर घर भित्र्याएको र केही महिनापछि परिवारजनले हेला गरि माईती मै अलपत्र परेको ती महिलाले बताईन् ।
खत्रीबाट रहेको भनिएको गर्भबाट २०५९ साल कार्तिक १२ गते सन्तान जन्मिएको र खत्रीले पालन पोषण नगरेको भन्दै ती महिलाले नाता कायम गरि खान खर्च पाउँ भनि जिल्ला अदालत गुल्मीमा डेढ वर्ष अघि मुद्धा दिए पनि हालसम्म फैसला हुन सकेको छैन । उनका छोरा अहिले १५ वर्ष पुगेर १६ वर्षमा लागेका छन् ।
उनै खत्री बाबु रहेको शैक्षिक प्रमाण पत्र बनाई उनले माईती मै बसेर छोरा पढाए पनि विवाह दर्ता भएको छैन । जसका कारण त्यो उमेरसम्म उनका छोरा वेवारिसे सन्तान बन्न पुगेका छन् ।
खत्रीले भने आफ्नो सन्तान नभएको दाबी गर्दै आएका छन् । उनले आफुले ती महिलालाई घर नभित्र्याएको दाबी गरे पनि ती महिला उनको घर भित्रिएको, सुत्केरी पनि उनकै घरमा भएको र खत्रीले बाबुका रुपमा न्वरान समेत गरेको स्थानियले बोलेको कुरा हामीसँग भिडियो सुरक्षित रहेको छ ।
स्थानिय जनप्रतिनिधि, त्यहाँको आमा समुह र उनलाई भित्र्याउँदाका प्रत्यक्षदर्शीले ती महिलालाई खत्रीले कान्छी श्रीमतीका रुपमा भित्र्याएका बताएका छन् । उनी भारतीय सेनाका लाहुरे थिए । त्यति बेला उनी घर बिदा आउँदा उनकी श्रीमती सुत्केरी भएको बेला आफुलाई सुरुमा जबरजस्ती शारीरिक सम्बन्ध राखेका बताएका छन् भने पछि आफुहरुबीच माया सम्वन्ध रहन गई उनले घर भित्र्याएको ती महिलाको भनाई छ ।
दुवै पक्षका अधिवत्ताहरुका अनुसार मेलमिलापबाट मिलाउने धेरै पटकको प्रयासका कारण फैसलामा ढिलाई हुन गएको हो । उनलाई लाखौं रकम दिएर मुद्धा थुत्न दबाब दिएको उनले गुनासो समेत गर्दै आई रहेकी छिन् ।
उनले रुँदै भनिन –‘मलाई पैसा ठुलो होईन, मेरो अस्मीताको सवाल र छोराको अधिकार खोजेकी हुँ, यदि मेरो छोराको उनी बाबु होईनन् भने को हुन त अर्को बाबुु उनले देखाउन सक्नु प¥यो ।’
उनले प्रति प्रश्न गर्दै भनिन–‘ यदि उनले अदालतमा दाबी गरे झैं उनको गल्ती नै थिएन भने के का लागि पटक पटक मलाई वकिल मार्फत लाखौं रकम दिन्छु मुद्धा फिर्ता गर भन्दै छन् ? जिल्ला अदालतमा हाल सम्म परेका यस्ता मुद्धा मध्ये पुरुषहरुले डिएनए परिक्षणको माग गर्दै महिलाहरुलाई झुलाउने गरेको पाईएको छ ।
त्यस अदालतमा हालसम्म चार जना पुरुषले डिएनए परिक्षणको माग गरेको त्यस मध्ये एक जना मात्रै महिलाको पक्षमा डिएनए पास भएको अरु तीन जना पुरुष कै पक्षमा भएको अधिवक्ता गोपाल खनालले बताए । उनले डिएनए परीक्षण मात्रै बलियो प्रमाण हुन नसक्ने तर्क राखे ।
अर्का अधिवक्ता विष्णुप्रसाद बलाल डिएनए परिक्षण बलियो प्रमाण रहेको बताउँछन् । अधिवक्ता खनाल भन्छन् ‘पछिल्लो पटक सर्वोच्चको एक नजिरले डिएनए नै बलियो प्रमाण हुन नसक्ने देखाएको छ । यी महिलाका विपक्षी पुरुषले पनि डिएनए परीक्षणको माग गरेको बताईएको छ ।