काठमाडाैं । उपाधिकाे दाबेदारका रूपमा हेरिएकाे अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैकाे नजरमा रहेका लियाेनल मेस्सीबाट अाश मारेका छन् ।
गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हाे । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।
क्रोएशियाबिरुद्ध मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक रह्यो । अर्जेन्टिना क्रोएशियासँग ३–० गोलले पराजित भयो । क्रोएशियाका लागि रेविक, राकिटिक र मोड्रिकले एक/एक गोल गरेर जित सुनिश्चित गरे ।
अर्जेन्टिनाले रुसको निज्नी नोभोगाड रंगशालामा निक्कै कमजोर प्रदर्शन गर्यो । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिएको खेलमा पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको सुरुमै क्रोएशियाले अग्रता लियो । गोलरक्षक विली कावालेरोको गम्भीर गल्तीमा अर्जेन्टिनाले गोल खान पुगेको हो ।
ब्याकपास कलेक्ट गरेर डिफेण्डरलाई पास गर्न लाग्दा उनले क्रोएशियाका एन्टे रेविकलाई पास दिन पुगेका थिए । उनले शानदार गोलमार्फत टोलीलाई अग्रता दिलाए ।
८१औं मिनेमा क्रोएशियाका कप्तान लुका मोड्रिकले डिबक्स बाहिरबाट सुन्दर गोल प्रहार गरे । खेलको इन्ज्यूरी समयको पहिलो मिनेटमा मिडफिल्डर इभान राकिटिकले बार्सिलोनाका आफ्ना टिममेट मेस्सीको टिमबिरुद्ध तेस्रो तथा विजयी गोल गरे ।
जितसँगै क्रोएशियाको ६ अंक भएको छ भने उसले नकआउट चरणको यात्रा पक्का परेको छ । समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहीन छ ।
आज नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविष्य निर्धारण गर्नेछ ।