बिबिसी : न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छन्। केही महिनाअघि मात्र उनले आफू गर्भवती भएको खुलासा गरेकी थिइन्।
यससँगै उनी प्रधानमन्त्री पदमा बहाल रहँदै शिशुलाई जन्मदिने विश्वकै दाेस्राे नेतृका रूपमा दरिएकी छन् । यसअघि पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो प्रधानमन्त्री पदमा रहँदा शिशुलाई जन्म दिएकी थिइन्।
अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन्।
नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, “(‘वी वान्’) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ।”
शिशुलाई जन्मदिएपछि आर्डर्नले सुत्केरी बिदा लिएकी छन्। अस्पताल जानुअघि उनले उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई आफ्ना जिम्मेवारी सुम्पिएकी छन्।
तर उनले आफू ६ साताको सुत्केरी बिदामा रहेको बेला पनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छिन्।
उनलाई पुत्रीलाभकाे खबर सार्वजनिक भए लगत्तै न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाईको ओइरो लाग्न थालेको छ।