सोमबार बेलुका निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको दाहसंस्कार गरिएको छ। मंगलबार बिहान आठ बजेदेखि एक बजेसम्म श्रद्धाञ्जलिका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा उनको शव राखिएको थियो। डा देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दिक्षीत देवकोटा तथा छोरीहरू मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका छन्। डा देवकोटाको पशुपति आर्यघाटमा विद्युतीय शवदहमा दाहसंस्कार गरिएको छ। डा देवकोटाले आफ्नो ३४ वर्षे चिकित्सकीय जीवनमा १८ हजार जनाको शल्यक्रिया गरेका थिए भने १० लाख बढी बिरामीलाई मृत्युको मुखबाट बचाएका थिए।
उनी नेपालमा मात्र नभएर एसियाकै उत्कृष्ट न्यूरो सर्जनको रूपमा परिचित थिए। विद्यालय तहदेखि नै पढाइमा सधैँ अब्बल रहेका डा देवकोटा बेलायतबाट न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेर फर्किए। त्यसपछि उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा नेपालमै पहिलोपटक सरकारी अस्पतालमा न्युरो सर्जरी विभागको समेत स्थापना भएको थियो।
नेपाल फर्किएपछि पहिलो पटक ब्रेन ट्युमरको लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीर अस्पतालमै गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य तथा चिकित्सा शिक्षा सेवामा धेरै राम्रा कामको सुरुवात गरेका थिए।