साढे ३३ किलो सुनसहित सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा बाजेको सेकुवाका काठमाण्डौंका विभिन्न रेष्टुरेन्ट बन्द भएपछि त्यहाँ काम गर्ने मजदुरले आन्दोलन गर्ने तयारी गरेका छन् । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले काठमाडौं उपत्यकाका ६ वटा आउटलेटमा सिल गरेपछि उनीहरुको जागिर गुमेको हो ।
रेष्टुरेन्ट सञ्चालक चेतनाथ भण्डारी सुन तस्करीमा संलग्नता रहेको तथा आर्जन गरेको रकम रेष्टुरेन्टमा लगानी गरेको छानबिन समितिले दाबी गरेको छ।
‘हामीले काम गर्ने थलोमा एक्कासी प्रहरी आएर शिल लगाइदिएको छ। सञ्चालकको अपराधमा हामीले समेत दण्ड पाएका छौँ’ १० वर्षदेखि सेफका रुपमा कार्यरत श्यामसुन्दर हेम्बा श्रेष्ठले भने, ‘हाम्रो रोजीरोटी खोसिएको छ, अब के गर्ने थाहा छैन।’
श्रेष्ठले तलब पाउने मुखैमा रेष्टुरेन्ट बन्द हुँदा गुजारा गर्न गाह्रो परेको समेत बताए। यद्यपीसरकारले गर्ने छानबिनमा आफूहरुले समेत साथ दिने बताउँदै उनले सञ्चालकले अपराध गरेको भए उनीमाथि कारबाही हुनुपर्नेमा जोड दिए। तर रेष्टुरेन्ट नै बन्द गरेर मजदुरहरुलार्ई बेरोजगार बनाउन नहुने श्रेष्ठको माग छ।
विगत ९ वर्षदेखि हाउस किपिङका रुपमा कार्यरत सुशिला तामाङले रेष्टुरेन्ट बन्द हुँदा बिचल्ली भएको बताइन्। ‘हामी रासनपानी उधारोमा लिएर गुजारा गर्ने मजदुर हौँ।
महिना मरेपछि कोठा भाडा, बच्चाको फी र राशनको पैसा तिर्नुपर्छ। तलब पाउने मुखैमा रेष्टुरेन्ट बन्द भएपछि बिचल्ली भएको छ’, तामाङले भनिन्।
उनले एक महिनाको तलब नपाएको तथा सञ्चयकोषमा जम्मा हुँदै आएको रकम कसरी पाउने भन्ने अन्योल रहेको बताइन्। बाजेको सेकुवा बन्द भइरहने हो भने सरकारले आफूहरुलाई रोजगारी दिनुपर्ने तामाङको भनाइ छ। बाजेको सेकुवामा २ सय मजदुर कार्यरत छन्।