काठमाडौं । चीनमा अपराध गरेर नेपाल छिरेकी युवती झोङ सुई काठमाडौंमा पक्राउ परेकी छिन् । चीनमा वित्तिय अपराध गरी पर्यटक भिसामा नेपालमा लुकिछिपी बसिरहेकी सुईलाई बिहीबार अध्यागमन विभागले पक्राउ गरेको हो ।
उनी बिहीबार भिसाको म्याद थप्न अध्यागमन पुगेपछि उनलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएका थिए । फरार भएकी सुईलाई पक्रनका लागि इन्टरपोलले रेड कर्नर नोटिस समेत जारी गरेको थियो ।
चिनियाँ दूतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्टका आधारमा सुईलाई अध्यागमनले चीन पठाउन लागेको हो । अध्यागमनले हिरासतमा रहेकी सुईलाई आज शुक्रबार चीन फिर्ता पठाउँदै छ ।
चिनियाँ दूतावासले अध्यागमनलाई सुइको राहदानी रद्द गरिएको जानकारी दिएको थियो । नेपालमा नै सुई लुकिछिपी बसेको आशंकामा इन्टरपोल र चिनियाँ दूतावासले अध्यागमनसँग उनी भिसाको म्याद थप्न आए तत्काल पक्राउ गर्न आग्रह गरेका थिए ।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले चीनमा गम्भीर अपराध गरेकाले सुईलाई उतै पठाइने जानकारी दिए । विसं २०७१ असोजमा पहिलो पटक नेपाल आएकी सुई पछिल्लो पटक पर्यटक भिसामा फागुन १९ गते आएकी थिइन् ।