काठमाडौं । ‘मर्निङ स्टार’का रुपमा चर्चित उत्तर कोरियाली शासक किम जोङ उन परमाणु परीक्षणदेखि अमेरिकी राष्ट्रपतिसँगको शिखर वार्तासम्म आइपुग्दा विश्वकै केन्द्रमा छन् । परमाणु परीक्षण रोकेर दक्षिण कोरिया हुँदै अमेरिकासँग सम्बन्ध सुधारको प्रयासमा रहेका किमले ट्रम्पसँगको भेटमा परमाणु निशस्त्रीकरणका बारेमा ठोस धारणा राखेनन् । त्यसैले ‘सिंगापुर वार्ता’ले पनि कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाको मूर्त आधार तयार नगरेको बताइएको छ ।
सन् २०११ मा पिता किम जोङ इलको निधनपछि २७ बर्षीय किम जोङ उन चौतर्फी घेराबन्दीका रहेको उत्तर कोरियाको बागडोर सम्हाल्न आए । अपरिपक्व उमेरमै सत्ता सम्हालेका किमले सुरुदेखि नै ‘देशको सुरक्षाका लागि भन्दै’ आणविक परीक्षणमा जोड दिए । चौतर्फी धेराबन्दी, कठोर नाकाबन्दी र आक्रमणको निरन्तर धम्कीबीच एकपछि अर्को शक्तिशाली आणविक परीक्षण गर्दा किम ‘जबरजस्त’ विश्वकै शक्तिशाली नेताका रुपमा उदाए । राष्ट्रसंघीय सुरक्षा परीषद्मा आफ्नो देशविरुद्धको नाकाबन्दी थप कडा बनाउनु पर्ने अमेरिकाको प्रस्तावपछि क्रुद बनेका किमले अमेरिकाका मुख्य सहर नै ध्यस्त लगाउने चेतावनी दिँदा उनी र ट्रम्पबीच लामो वाकयुद्ध चल्यो ।
मार्चमा आफ्नो मुख्य सहयोगी चीनको भ्रमण गरे लगत्तै किममा आश्चर्यजनक परिवर्तन देखियो । दक्षिण कोरियासँग सम्बन्ध सुधारको हात बढाए र त्यही सिलसिला कायम रहँदा मंगलबार किमले ‘परम दुश्मन’ भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पसँग ऐतिहासिक शिखर वार्ता गरेका छन् । जहाँ शुत्रतापूर्ण विगत बिर्सिएझै गरी ट्रम्पले पनि किमको खुलेरै प्रंशसा गरे ।
सत्तामा आएसँगै आणविक परीक्षण र हतियार निर्माणमा इच्छा जाहेर गरेका किमले उत्तर कोरियालाई परमाणु विहीन बनालान् भन्ने प्रश्न पश्चिमा मुलुकले गर्दै आएका छन् । अनेकौं शंका र प्रश्नलाई चिर्दै भएको भेटले अमेरिकासँग सहयात्रा सुरु हुने विश्वास लिएका किमले यो भेटलाई विश्वले फिल्मी शैलीको विश्लेषण गरेको भन्दै आलोचकप्रति व्यंग्य थिए ।
चार बुँदे सहमति–पत्रमा हस्ताक्षर गरेपनि दुबै एक–अर्काप्रति विश्वस्त बनिसकेका छैनन् । ट्रम्पले एकहोरो निशस्त्रीकरणको माग गर्नु र त्यसमा किम मौन बस्नुले पनि विश्वासको आधार बनिनसकेको प्रष्ट हुन्छ । किमको चीन भ्रमणपछि तय भएको यो शिखर वार्तालाई कतिपयले चीनकै नयाँ कार्ड पनि भनेका छन् ।
दुई धु्रवका देशलाई जोड्ने प्रयास गरेर उसले आफ्नो दबदबा थप बढाउन खोजेको टिप्पणी गरिए पनि स्वतन्त्र पुष्टि हुने आधार भने देखिएको छैन् । तर, तत्कालका लागि शान्ति स्थापना गरेर आउँदा दिनमा विश्व सामु पुरानै स्वरुपमा उत्तर कोरिया प्रस्तुत हुने हो कि भन्ने प्रश्न अझै पनि सहतमै छ ।