नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको बेला सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् । मंगलवार चितवनको भरतपुर पुगेका प्रचण्डले भ्रमणबारे पुष्टि गर्दै आफू विकासको एजेन्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको बताए ।
आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेन्डा लिएर भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै आफू त्यसको तयारीमा रहेको प्रचण्डले बताए । मोदी काठमाडौँ आएका बेला आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै उनले अघि भने ‘मलाई भारतीय प्रधानमन्त्रीले एकचोटी विकासको एजेण्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ, र म जाने तयारीमा छु ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू चीन जाने पनि बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने पनि बताए । उनले नेपालमा भारत र चीनले एक एक वटा ऐतिहासिक योजना निर्माण गरोस् भन्ने एजेन्डा लिएर ती देशको भ्रमणमा जाने बताए ।