मलेसिया जाने कामदार ठगी : भिएलएनका अध्यक्षविरुद्ध मुद्दा दायर, ३ अर्ब बिगो दाबी


काठमाडौँ । मलेसिया जानेका कामदारलार्इ ठगी गर्दै अाएकाे अवैध कम्पनी ‘भिएलएन’का अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएकाे छ। काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको हाे।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका भिएलएनले अवैध रूपमा पैसा असुल्दै अाएकाे थियाे । उसले कामदारबाट हालसम्म करिब तीन अर्ब बराबर रकम ठगी गरेको अभियोग लगाइएकाे छ ।

श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित साेमबार सरकारी वकिलकाे कार्यालयले मुद्दा दर्ता गरेको हो। अाज (मंगलबार)बाट श्रेष्ठको थुन्छेक बयान सुरू भएकाे जनाइएकाे छ । बयानलगत्तै वादी र प्रतिवादीका वकिलहरूकाे बहस सुरु हुनेछ।

प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष श्रेष्ठ भने उपचारकाे बहानामा हिरासतमा बस्न नमानी नर्भिक अस्पतालमा बस्दै अाएका छन्।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार