यसपटक पनि अर्जेन्टिनालाई जर्मनीको डर


मस्को- जुन २९, सन् १९८६ । मेक्सिकोको एस्टाडियो एज्टेका रंगशाला। एक लाख १४ हजार ६ सय दर्शकसामु अर्जेन्टिना र जर्मनी (तत्कालीन पश्चिम जर्मनी) विश्वकपको उपाधिका लागि भिड्दै थिए।

८२ औँ मिनेटसम्म खेल २–२ गोलको बराबरीमा थियो। बुरुचागाले ८३ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो, अर्जेन्टिना विश्व विजेता बन्यो। यहि विश्वकपले म्याराडोनालाई चिनायो, म्याराडोना महान् खेलाडी बने। म्याराडोनाले सेमिफाइनलमा बेल्जियमलाई २–० गोलले हराउँदा दुवै गोल गरेका थिए।

क्वार्टरफाइनलमा इङल्यान्डलाई २–१ गोलले हराउँदा पनि दुवै गोल म्याराडोनाको नाममा थियो। ती दुवै गोल ऐतिहासिक थिए। उनले एउटा गोल आफ्नो क्षेत्रबाट एक्लैले अगाडि बढाएर डीबक्सभित्रबाट गरेका थिए भने अर्को गोल हातले गरेका थिए जुन कसैले पनि चाल पाएनन्।

फाइनलमा एक गोल पनि गर्न नसकेका म्याराडोना त्यस विश्वकपमा सर्बोत्कृष्ट खेलाडी घोषित भए। सन् १९९० को विश्वकपमा पनि जर्मनी (तत्कालिन पश्चिम जर्मनी) र अर्जेन्टिना फाइनल पुगे।

८५ औँ मिनेटमा आन्द्रेस ब्रेह्मले पेनाल्टीमार्फत गरेको गोलले जर्मनी १–० गोलले विजयी भयो र तेस्रोपटक विश्व च्याम्पियन बन्यो। त्यसपछि विश्वकपमा जर्मनीले कहिल्यै अर्जेन्टिनालाई माथी उठ्न दिएन।

पछिल्ला तीन विश्वकपका उपाधि यात्रामा अर्जेन्टिनालाई जर्मनीले नै रोकेको छ।

जर्मनीले सन् २००६ को विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो। सन् २०१० को विश्वकपको क्वार्टरफाइनलमा जर्मनीले अर्जेन्टिनालाई ४–० गोलले हरायो।

चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपमा लियोनल मेसीकै कारण अर्जेन्टिना चर्चामा थियो। लगातार चार पटक फिफा वर्ष खेलाडी भएका मेसीले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न नसकेका कारण मेसी अन्य खेलाडीको तुलनामा बढी चर्चामा थिए।

अर्जेन्टिना फाइनल पुग्यो, मेसीकै प्रेरणामा। तर उपाधि भिडन्तमा जर्मनीसँग १–० गोलले पराजित भयो। खेलको अतिरिक्त समयको अन्त्यतिर गोल गर्दै जर्मनी २४ वर्षपछि विश्व च्याम्पियन बन्यो।

यस नतिजाले मेसी निराश हुनु स्वभाविक थियो। सन् १९८६ मा म्याराडोनाजस्तै मेसी पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए तर उपाधि जित्न नसकेकामा दुखित देखिए।

सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना सन् १९७८ यता विश्व फुटबलमा सशक्त टोलीका रुपमा स्थापित भएको थियो। नेदरल्यान्ड्सलाई फाइनलमा हराएर सन् १९७८ को विश्वकप जितेपछि अर्जेन्टिना विश्व फुटबलमा पुन उदाएको हो।

जर्मनीको कहानी भने बेग्लै छ। सन् १९५४ मा पहिलो पटक विश्व च्याम्पियन बनेको जर्मनी त्यसयता विश्वकपमा थप तीनपटक विजेता बनेको छ भने चार पटक फाइनलमा पुगेर पराजित भएको छ।

हालसम्म १८ पटक विश्वकप खेलेको उसले यीमध्ये चार पटक सेमिफाइनल र तीन पटक क्वार्टरफाइनल पुगेको छ। सन् १९८२ यतामात्र जर्मनी विश्वकपमा दुई पटक विजेता र तीन पटक उपविजेता बनेको छ भने दुई दुई पटक सेमिफाइनल र क्वार्टरफाइनलमा पुगेर रोकिएको छ।

एक सातापछि रुसमा सुरु हुने विश्वकपमा जर्मनी र अर्जेन्टिना दुवै अगाडि बढ्दै गए कम्तिमा सेमिफाइनलभन्दा अगाडि आपसमा भिड्ने छैनन्। यसपटक पनि अर्जेन्टिनालाई जर्मनीको डर उत्तिकै छ।-देश संचारबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार