काठमाडौं । जग्गा खरिदमा कराेडाैं रकम घोटाला गरेकाे अाराेप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। अाज (बिहीबार) खड्काले उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो।
मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले शी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए । उनले मिडियाप्रति समेत अाक्राेश व्यक्त गर्दै भने, ‘मिडियाकाे गलत प्रचारबाजीले समेत पद छाेड्न बाध्य भएकाे हुँ ।’ कार्यकाल ६ महिना बाँकी छँदै खड्काले राजीनामा दिएका हुन् ।
निगममा छँदा उनीमाथि भ्रष्टाचारकाे अाराेप लागेपछि खड्का मन्त्रालय तानिएका थिए । मन्त्रालयमा भने उनलाई कुनै जिम्मेवारी दिइएको थिएन।
अायल निगमका लागि तेल भण्डारण गर्न खरिद गरिएकाे जग्गामा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको बताएका थिए । जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको उनीमाथि लागेकाे थियाे ।
फिल्ड अध्ययन नै गरेको संसदीय समितिले निगमले चलनचल्तीभन्दा महँगो दरमा जग्गा खरिद गरेको, सार्वजनिक खरिद नियमावलीको प्रक्रिया अवलम्बन नगरेको र सार्वजनिक निकायका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया अवलम्बन नगरेको ठहर गरेको थियो।
सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते नै बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्बहाली भएका थिए। बहालीलगत्तै उनलाई सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराएको थियो।