बलात्कारीलाई जोगाउन नक्कली कागज बनाउने वीर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सेवा आयोगका सचिव लक्ष्मण अर्याल र रेडियोग्राफर कृष्णप्रसाद तिमल्सिनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई बचाउन कीर्ते कागजात बनाउन ५० हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले जबरजस्ती करणीका अभियुक्त उद्धवप्रसाद नेपाललाई जोगाउन कीर्ते कागज बनाएको अभियोग लगाएको छ । सचिव अर्याल र रेडियोग्राफर तिमल्सिना ले जबर्जस्ती करणी मुद्दाका प्रतिवादी नेपाललाई जोगाउन ५० हजार घुस लिई नक्कली उपचार प्रतिवेदन बनाएको अख्तियारले जनाएको छ ।नेपालमाथि करणीको अभियोग लागेको बेला उनी अस्पतालमा उपचाररत रहेको व्यहोरासहित कीर्ते कागजात तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको र सोही आधारमा मुद्दा दायर भएको अख्तियारका सहसचिव रामेश्वर दंगालले बताए । अर्याल वीर अस्पतालका मेडिकल रेकर्ड शाखा प्रमुख पनि हुन् ।

अभियुक्त नेपालले आफ्ना ससुरा केदारनाथ पराजुलीमार्फत अस्पतालका कर्मचारीहरुलाई घुस उपलव्ध गराउँदै गलत प्रतिवेदन निर्माण गरेको अख्तियारले जनाएको छ । नेपालले उच्च अदालत पाटनमा पेश गरेको कागजात कीर्ते रहेको ठहर भएको छ ।

सेवा आयोगका सचिव अर्याल यसअघि अस्पतालभित्रको भ्रष्टाचार प्रकरणमा पनि विवादमा परेका व्यक्ति हुन् । अस्पतालको ठेक्का पट्टामा उपकुलपति गणेश गुरुङ र खरिद शाखा प्रमुख भगवती थपलियालाई हातमा लिएर आफू निकटस्थलाई ठेक्का पार्ने गरेको उजुरीमाथि पनि छानबनि भइरहेको छ ।उनीमाथि उपकुलपति गुरुङको नाम लिएर औषधी व्यापारीसँग रकम असुल गरेको र वीर अस्पतालको नयाँ ६५० शैयाको अस्पताल भवनका ठेकेदारसँग मिलेमतो गरेको आरोप समेत लागेको छ ।वीर अस्पतालमा कर्मचारी भर्ना गर्दा उत्तर पुस्तिकानै परिवर्तन गरेको आरोपमा पनि अख्तियार, सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा समेत उन विरुद्ध उजुरी परेको छ । यसबारेमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि सतर्कता केन्द्रले आइतबारदेखि वीर अस्पतालमा छानविन शुरु गरेको छ ।
स्रोतका अनुसार सतर्कता केन्द्रले सेवा आयोगको २०७२/७३ को परीक्षाका सबै फाइल मागेको छ । त्यस्तै खरिद इकाबाट भएका सबै फाइल मागेर छानबिन थालिएको सतर्कता केन्द्र स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार