काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमन
उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने, ‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गछौं ।’
नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ, हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै अब ढटुँवा कम्युनिष्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे ।
आयोजित सो साक्षात्कारमा बोल्दै नेता सुमनले राजपा संसदमा तेस्रो ठूलो दल र २ नम्बर प्रदेशमा पहिलो शक्ति भएको जिकिर गरे । उनले भने, ‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाईपास गरेर मधेशमा गरिने कुनैपनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमतिपनि मधेशको हितमा छैन् ।’
नेकपा र फोरमबीचको सहमति पनि चुट्किला र हाँसोको पात्र भएको आरोप लगाए । नेता सुमनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रारा तालमा हावा खाने र काखे बालक च्यापेर चुट्किला सुनाउनेबाहेक अरु केही नसकेको आरोप लगाए ।
आफूहरुलाई कुनैपनि किसिमको कम्युनिष्ट अधिनायकवाद स्विकार्य नहुने उनको भनाई थियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठेको उल्लेख गरे । केही समय अघि २५ जना न्यायाधीशहरुले सपथ खाएलगत्तै पार्टी कार्यालयमा पुगेको दृष्टान्त पेश गर्दै आफूहरु कुनैपनि किसिमको अधिनायकवादको पक्षमा नरहेको उनले जिकिर गरे ।
फरक प्रसँगमा उनले रेशम चौधरीलाई बचाउनको लागि मात्रै संसद निलम्बन गर्न हुँदैन भन्ने पक्षमा राजपा नेपाल नउभिएको दाबी गरे । उनले भने, ‘यो नियामावली त पाँच वर्षको लागि बन्ने हो, राजपा अपराधीलाई सांसद बनाउन हुँदैन भन्ने पक्षमै छ ।’