काठमाडौं । गृह मन्त्रालयले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा भइरहेको अनुसन्धान कानुनले दिएको अधिकार बमोजिम भइरहेको जनाएको छ ।
अदालतमा विचाराधीन रहेका कतिपय संवेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विज्ञप्तिमार्फत अनुसन्धानमै गम्भीर असर पर्ने र अपराधीको मनोबल थप बढ्न सक्ने देखिएकोतर्फ आफू सचेत रहेको मन्त्रालयले जनाएको हो ।
तीन पूर्व उच्च प्रहरी अधिकारीले इमान्दार प्रहरीलाई फसाइएको र अनुभव नै नभएका निजामती कर्मचारीलाई अनुसन्धानको नेतृत्व दिएको भन्दै आपत्ति जनाएको भोलिपल्टै गृहले त्यस प्रकारका भ्रामक धारणका कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।
‘अनुसन्धान कुनै व्यक्ति वा पदाधिकारीप्रति आग्रह÷पूर्वाग्रह राखेर गरिएको विषय नभइ प्रचलित कानुनले प्रदान गरेको अधिकार बमोजिम तथ्य प्रमाण र कानुनको अधिनमा रहेर गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।