जुन १ तारिख आत्महत्या गरेका चिरञ्जीवी कार्कीको दाह संस्कार पोर्तुगलमै हुने !

  योगेन्द्रमिलन छन्त्याल

लिस्बोन सेतुवाल , मोन्तिजुमा जुन १ तारिख झुन्डिएर आत्महत्या गरेका चिरञ्जीवी कार्कीको दाह संस्कार पोर्तुगलमै गरिने खबर आएको छ । परिवारको स्वीकृतिमा उनको दाह संस्कार पोर्तुगलमै हुने भएको छ ।


गणतान्त्रिक राष्ट्रिय सुरक्षा (जीएनआर) का एक प्रहरीले कार्कीको अपत्यारिलो अवस्थामा मृत्‍यु भएको बताएका छन् । उनका कागजातहरु प्रहरीसग संरक्षित छन् । जीएनआरका अनुसार सोमबारसम्म पोष्ट मार्टमको रिपोर्ट आउनेछ । पोष्ट मार्टमको रिपोर्ट आएपछि दाह संस्कार सम्बन्धी काम गर्ने एजेन्सी (फुनेररिया) मार्फत उनको कागजात र शव प्राप्त गर्न सकिनेछ । उनको शव बेराइरो अस्पतालमा राखिएको छ ।

मोरङ इटहराका २२ वर्षीय कार्की मोन्तिजुको एउटा फुल कम्पनीमा काम गरिरहेका थिए । मोन्तिजु आउनुअघि अल्गार्भको फोर्मोस कम्पनीको शाखामा काम गरेको उनका साथीले जानकारी दिएका छन् ।

कार्की बस्दै आएको घरमा अर्का एकजना नेपाली र एकजना भारतीय युवक बस्दै आएका छन् । तीनवटा अलग अलग कोठामा एक एक जना बस्दै आएका थिए । १ तारिख बिहान काममा जाने बेला भएर पनि कार्की उठेनछन् । ‘हेर्न जाँदा अपत्यारिलो अवस्थामा झुन्डिएको फेला परे’ भारतीय युवकले भने, ‘ऊ झुन्डिएको देख्नेबित्तिकै पुलिस बोलायौ । पुलिस आएपछि उसको मोबाइल हेर्दा थुप्रै ठाउँमा भिडियो कल गरेको थियो ।’

विद्यार्थी प्रवेशाज्ञामा डेनमार्क आएका कार्की १८ महिना अघि डेनमार्कबाट पोर्तुगल आएको उनका साथीले बताए । उनको यही जुन २२ तारिखका दिन रेजिडेन्स परमिटका लागि विदेशी तथा सीमा हेर्ने निकाय (सेफ) मा अपोइन्टमेन्ट रहेको भेटिएको छ ।

कार्कीको शव व्यवस्थापन गर्न शनिबार गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा सर्वपक्षीय बैठक बसेको थियो । बैठकले दाह संस्कारका लागि आवश्यक रकम सङ्कलन गर्ने निर्णय गरेको छ ।

एनआरएनए अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वेच्छिक रुपमा शव व्यवस्थापनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

एनआरएनए सल्लाहकार लक्ष्मीप्रसाद सापकोटाका अनुसार स्वर्गीय कार्कीप्रति अन्तिम श्रद्धाञ्जली र दाह संस्कारको कार्यक्रम सम्भवत सोमबार बेलुकी तय हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार