गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेनमेन्टबाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन खतिवडाको सङ्गीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।
पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। गायक सुमन भन्छन्, ‘गीतमा धेरै मेहनत गरिएको छ। मेहनत अनुसार दर्शक-श्रोताले रुचाउने आशा लिएका छौं।’
त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकर्षित भएको कुरालाई गीतको मध्यमबाट उतारिएको गीतकार अम्बिका गुरुङले बताइन्। गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन्।
शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्री खुबै मिलेको देखिन्छ। भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापा बताउँछन्।