१७ किलो सुनसहित समातिएका लामालाई साढे १० वर्ष कैद, ८ करोड जरिवाना


१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासों गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० वर्ष ६ महिना कैद फैसला गरेको छ । लामालाई गत कात्तिक १७ गते लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा सुनसहित प्रहरीले पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बिगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ । उक्त सुनको बिगो बमोजिमको मूल्य तत्कालिन अवस्थाको रहेको अदालतले जनाएको छ ।

संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्दामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार लामा पुस १७ गतेदेखि जिल्ला कारागारमा पुर्पक्ष थुनामा थिए । फैसलाअनुसार लामाले सुन ल्याउन प्रयोग गरेको बा ५८ प ४२९१ नम्बर मोटरसाइकल, हेल्मेट र मोबाइल पनि जफत गरिएको छ ।

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल र प्रतिवादीका तर्फबाट अधिवक्ता डा। गजेन्द्र अर्यालले बहस गरेका थिए ।सुन ओसार्ने भरियाका रूपमा प्रयोग गरिएका लामालाई कैद फैसला सुनाइए पनि यसमा संलग्न अन्य व्यक्ति पत्ता लागेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरेको थियो । प्रहरीले अदालतमा पेस गरेको मिसिलमा झक्टु लामा भन्ने व्यक्तिले २० हजार रुपैयाँ दिएर बेंसीसहरमा पुर्‍याउन भनेको र झक्टुले गोरखा घर बताउने औतेमा लामाको नाम लिने गरेको उल्लेख छ ।

प्रहरीले मनाङ र गोरखा प्रशासनमा ती व्यक्तिले नागरिकता लिए नलिएकोबारे सोधखोज गरेको थियो । लामाको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । यसअघि दुईपटक सामान ओसारेपनि त्यसमा सुन रहेको बारे आफुलाई थाहा नभएको बयान लामाले दिएको प्रहरी निरीक्षक बुद्धीसागर पुरीले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार