काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सांसद डा. बाबुराम भट्टराईले सेयर बजारमा दलाल (ब्राेकर)लार्इ भ्याट छुट दिएर व्यक्तगत लगानीकर्तालार्इ भने पुँजीगत लाभकरकाे भार बढाइएकाे प्रति असन्तुष्टि जनाएका छन् । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उनले अाफ्नाे धारणा राखेका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएकाे अागामी अार्थिक वर्ष २०७५/०७६ काे बजेटमाथि प्रश्न उठाउँदै डा. भट्टरार्इले भने, ‘एकातिर लगानीकर्तालाई पुँजीगत लाभकरको भार ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याइएको छ, अर्कोतिर ब्रोकर कमिसनमा भ्याट हटाइएको छ । यो के गर्न खोजेको हाे ?
बजेटले गरेकाे नयाँ व्यवस्थाले पुँजी बजारमा साना र व्यक्तिगत लगानीकर्तालार्इ मारमा पार्ने उनकाे धारणा छ । व्यक्तिगत लाभकर बढ्दा साना लगानीकर्ता आकर्षित गर्न नसकिने भन्दै डा. भट्टरार्इले बजेटले निजी क्षेत्रलाई लगानी गर्न र नाफा कमाउनबाट कुण्ठित गरेको समेत बताए ।
साथै, सरकारका मन्त्रीहरूकाे सम्पत्ति विवरण हेर्दा उनीहरूले नै अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै त्यस्तो सम्पत्ति उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे । उत्पादनमूलक क्षेत्रमा कर सहुलियत दिन र अनुत्पादक क्षेत्रलाई बढी कर लगाएर नियन्त्रण गर्न सुझाव समेत दिए ।