युरोपियन च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका छन् । ४५ वर्षीय जिदानले साण्टियागो बेर्नबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् ।
क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल म्याड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय गरेका हुन् । सन २०१६ मा रियलको प्रशिक्षक भएर म्याड्रिड आएका जिदानले २०१६–१७ को ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए ।
जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका हुन । रियलले गत शनिवार लिभरपूललाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो । च्याम्पियन्स लिग जिते पनि स्पेनिस ला लिगामा चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग १७ अंकले पछि पर्दै तेस्रो स्थानमा सीमित हुनु जिदानको राजीनामाको कारण हुनसक्ने अनुमान गरिएको छ ।