लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार अल्टरसटको क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप १२ हजार भन्दा बढि दर्शकले प्रत्यक्ष हेरेको आयोजक तमु धिले जानकारी दियो ।
बेलायतबाहिर हंककंग, हल्याण्ड र बेल्जियमबाट समेत खेलाडीहरु सहभागी प्रतियोगिताको मुख्य विधामा ३२ र भेट्रानतर्फ १० गरी कुल ४२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको मुल विधातर्फ विजेता बन्दै मंगोलियन भाञ्जाले यस वर्षको गोर्खाकपको उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको अतिरिक्त समयमा ब्रिगेड बोइजलाई १ शून्यको अन्तरले हराउंदै मंगोलियन भाञ्जा विजेता बन्यो ।विजेता समुहले २५ सय पाउण्ड नगद र उपविजेताले १५ सय पाउण्डको नगदसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरे ।
त्यस्तै, भेट्रान समुहमा इलाम एफसी विजेता तथा केन्ट एफसी उपविजेता बने । विजेताले १२ सय तथा उपविजेताले ८ सय पाउण्ड नगदसहित ट्रफी र सर्टिफिकेट पाए ।
विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा रश्मोर बरोका मेयर काउन्सिलर स्टिभ मास्टर्सन, विशेष अतिथीहरु बेलायती सांसद लिओ डोचेर्टी, लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, मुख्य प्रायोजक आइडिया फर नेपालका सिईओ शिरोमणी दवाडी लगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताका फाइनल खेलहरुभन्दा अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथीहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तमु धि यूकेका अध्यक्ष तथा प्रतियोगिताका निर्देशक ज्ञाम गुरुङले गोर्खाकपको पृष्ठभुमिबारे जानकारी गराउंदै प्रतियोगिता सफल गराउन सहयोग गर्ने सम्पुर्ण प्रायोजक, संघसंस्था, खेलाडी तथा बेलायतबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसअवसरमा हालै सम्पन्न बेलायतको स्थानीय निर्वाचनबाट काउन्सिलर निर्वाचित हुने तीन जना नेपालीहरु लक्ष्य गुरुङ, चित्रबहादुर राना र विष्णु गुरुङ, नायिका जसिता गुरुङ लगायतलाई सम्मन गरिएको थियो ।
कार्यक्रममा विशेष आकर्षणको रुपमा एफए कपको प्रदर्शनी, गोर्खा ब्रिगेड ब्याण्डको विशेष प्रस्तुति, प्यारासुट जम्पिङ, मार्सट आर्ट, प्रथम नौमति बाजा गुल्मी यूके तथा सयपत्री सांस्कृतिक समुहको नृत्य लगायत प्रस्तुत गरिएका थिए ।
प्रतियोगितास्थलमा विभिन्न व्यवसाय तथा च्यारिटीका दर्जनौं स्टलहरु राखिएका थिए ।
प्रतियोगितास्थलमा नेपाली खानाका दर्जन बढि स्टलका साथमा विभिन्न नेपाली सामान तथा व्यवसाय र च्यारिटीका गरी ४० बढि स्टलहरु राखिएको थियो । एनआरएन यूकेको स्वास्थ्य विभागले निशुल्क स्वास्थ्य शिबिर चलाएको थियो ।
त्यस्तै, यसपटक राफल ड्रको विजेतालाई आउडी कार प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन तमु धि यूके महासचिव कृष्ण गुरुङले गरेका थिए भने प्रतियोगिताको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गरेका थिए ।
तमु धि यूकेका पूर्व अध्यक्षहरु तथा संस्थापकहरुले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना दिदै फाइनल खेल सुरु गरेका थिए ।
तस्बिरहरु : मिलन तमु