काँग्रेस सभापति शेरबहादुर देउवाले आफैँ संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना काँग्रेसले नै पूरा गरेको देउवाले दाबी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा शान्तिवाटिकामा मङ्गलवार बिहान आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारले लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ ।
व्यवहारमा देखाउनुपर्छ।’ विकास र समृद्धिमा लाग्नु मुलुकको प्रमुख आवश्यकता भए पनि कम चुनौती नरहेको उनको भनाइ छ। ‘पुँजी छैन। विदेशी लगानी चाहिन्छ। त्यसका लागि विश्वास चाहिन्छ’, देउवाले भने, लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएर दातृ राष्ट्रहरूमा विश्वास जगाउन आवश्यक छ।’ विदेशी सहयोग नल्याउने हो भने केही समयमै प्रदेश र स्थानीय सरकारको खर्च चलाउनै मुस्किल हुने उनको तर्क छ।
यता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको उपलब्धि सबै दल एक भएरै प्राप्त भएको धारणाा राखे । गणतन्त्र दिवसकै अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘संविधान कार्यान्वयनको यो चरणमा पनि दलहरूबिच सहकार्यको विकल्प छैन’, उनले भने, ‘यसका लागि प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ।’ साँच्चिकै गणतन्त्र आएको अनुभूत गर्न जनताका न्यूनतम आवश्यकता पूरा हुनुपर्ने उनले बताए। लोकतान्त्रिक व्यवस्था अँगालिसकेको भन्दै प्रचण्डले आफूहरू अधिनायकवादतर्फ जान नसक्ने बताए। काङ्ग्रेसप्रति लक्ष्य गर्दै उनले भने, ‘अधिनायकवाद आउँदैन। ढुक्क हुनुभए हुन्छ।’