गोरेले भने -उर्लाबारी र काठमाडौंको घर सबै बुबाको कमाइ हो,मैले कमाएको सबै खर्च गरेर सकेँ


साढे ३३ केजी सुनकाण्डका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ एसएसपी श्याम खत्री सुन तस्करमा संलग्नमध्ये मुख्य तस्कर रहेको आरोप लगाएर जेल चलान भएका छन् । आइतबार गोरेलाई पुर्पक्षका लागि जेल चलान गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको हो । अदालतमा बयानका क्रममा गोरेले सुन तस्करमा फरार रहेका एसएसपी खत्री तस्करमा मुख्य रूपमा लागेको दाबी गरेका छन् । गोरेले बयानमा अर्का आरोपित एसएसपी दिवेश लोहनीको सुनकाण्डमा कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् भने आफ्ना काका नाता पर्ने अवकाशप्राप्त डीआईजी गोविन्द निरौलालाई पनि निर्दोष भनी चोख्याउने प्रयत्न गरेका छन् ।

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले आफूसँग कुनै पनि सम्पत्ति नभएको बयानका क्रममा बताएका छन् । बयानमा आफ्नो धनसम्पत्ति नभएको उनले अदालतसमक्ष बताएका छन् । ‘बुबाको नाममा जग्गाजमिन छ । उर्लाबारी र काठमाडौंमा घर छ, यो सबै बुबाको कमाइ हो,’ उनले भने, ‘मैले कमाएको सबै खर्च गरिसकेँ ।’ अहिलेसम्म ५२१ पटक गरी ३८ क्विन्टल सुन आयात भएको प्रहरी दाबी छ । उनीविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनको सुनुवाइ गर्दै पुर्पक्षका लागि जेल चलान गरिएको छ । गोरेले विमानस्थलमा सुन बोक्ने भरिया सीधै प्रहरी हाकिमको जाने गरेको खुलासा गरेपछि प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ ।

अदालतमा उनले तेस्रो लाइनको सुनसमेत फ्लाई दुबईकै फ्लाइटमा आउने र यो लाइनबाट एकपटकमा २५ देखि ३० केजी सुन भरियालाई प्रहरीले पास गराउने उनले बताए । सुन बोक्ने मानिस सहजै प्रहरीका हाकिमको कोठामा जाने र झोला त्यहीँ छाडेर निस्कने गरेको उनले खुलाए ।

जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनीलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ घले भएको उनको बयान छ । आफूले भरियाहरूको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । ३८ क्विन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । यो मुद्दामा गोरेले खत्रीको संलग्नता खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ घले भएको उनको बयान छ । गोरले मात्र होइन, सुन तस्करीको अभियोगमा पक्राउ परेका अरूले पनि खत्रीलाई पोलेका छन् ।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘श्याम खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो ५० हजार निज आफैँले बुझ्थे,’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट चार सय किलोदेखि पाँच सय किलोसम्म सुन आएको छ ।’ खत्रीले पाँच सय किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानबिन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोडभन्दा बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन् ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनमा रेड कर्नर नोटिस जारी गर्ने तयारी छ । उनी यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए, तर पछि उनलाई अदालतले सफाइ दिएको थियो ।

बयानमा गोरेले भनेका छन्, ‘सनमको मृत्युपछि मैले बालकृष्ण सञ्जेललाई मृत्युको खबर गरेपछि प्रतिज केसी र सञ्जेलले मलाई सहयोग गर्छौँ भन्दै आएका हुन्, डीएसपी केसीले मसँग रकमको डिल गरेको हो । तर, उनीहरू मलाई बचाउन आएका होइनन्, मलाई झुक्याउन रकमको डिल भएकोजस्तो लागेर उनीहरूलाई झुक्याएर इन्डियातर्फ गएको हुँ ।’

निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे । रकम वितरणको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्थे । रजिस्टरमा उल्लेखित डीआईजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को–को हुन् यकिन भन्न सक्दिनँ । एयरपोर्टबाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ । रजिस्टरमा लेखिएको अक्षरहरू मृतक सनम शाक्यले लेखेको हो । सुन कारोबारको यकिन विवरण राख्न रजिस्टर खडा गरिएको हो । उनले सुन प्रकरणको सबै हिसाब सनम शाक्यले नै राख्ने गरेको बताएका छन् । ‘म सुनको कारोबार गर्न बाहिर–बाहिर हिँड्ने भएकाले हिसाबकिताब राख्ने जिम्मा सनमले नै पाएका थिए,’ उनले बयानमा भनेका छन्, ‘हाम्रो कुनै सङ्गठित अपराध छैन ।’-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार